मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो मेवालाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सकिन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।

आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।

फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।

मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ ।