चितवनको भरतपुरमा जारी आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दीले उसुमा दुई स्वर्ण सहित ६ पदक जितेको छ । गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट राष्ट्रिय खेलका लागि छनौटमा सहभागी शुसिल श्रेष्ठ, अनिस अर्मजाले स्वर्ण पदक जित्दै राष्ट्रिय खेलमा छनौट भएका छन् भने दिपिका राई, अविस्ना शाही, मिलन थापाले रजत र अभिषेक बानियाँले काँस्य पदक जितेको जिल्ला उसु संघ म्याग्दीका उपाध्यक्ष अमृत बास्कुनेले बताए ।उनका अनुसार प्रतियोगितामा ७ खेलाडी सहभागि रहेको प्रदेश स्तरीय छनौटमा सहभागिता जनाएका थिए ।

रजत पदक विजेतालाई स्वर्णपदकका खेलाडीमा केही समस्या देखिएमा प्रशिक्षणमा बोलाउने जनाइएको छ ।प्रतियोगितामा गत वर्ष भएको राखेप च्याम्पियनसिपमा पनि राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका शुसिलले पहिलो प्रयासमै स्वर्ण जित्दै म्याग्दीलाई पहिलो पदक दिलाएका थिए । नियमित अभ्यासमा देखिएको समस्या, विभिन्न कारणले उत्साहजनक सहभागि हुन नपाएको अवस्थामा दुई स्वर्ण सहित रजत र कास्य पदक जित्नु ठुलो उपलब्धी भएको प्रशिक्षक विकल कँडेलले बताए । म्याग्दीबाट गण्डकी प्रदेशस्तरीय खेलमा कराँते, तेक्वान्डो र उसुमा राष्ट्रिय खेलमा समेत पदकको सम्भावना रहेको छ ।