म्याग्दी हिमाली जिल्लाको बर्गीकरणमा परेको छ । संसारको सातौं अग्लो धौलागिरी हिमाल सहित दर्जनौ हिमश्रृङ्खला भएपनि हिमाली जिल्लामा समावेश नभएको म्याग्दीलाई केही नेपाल ऐन संसोधनमार्फत प्रतिनिधि र राष्ट्रिय सभाबाट हिमाली जिल्लामा समावेश गरिएको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले बेनीअनलाइनलाई बताए ।

‘लामो प्रयासपछि हामी सफल भएका छौ,‘म्याग्दीलाई अब हिमाली जिल्ला सरह बजेट सहितको प्राथमिकता मिल्छ’ थापाले भने । उनका अनुसार पारित भएको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि कार्यान्वयनमा आउने छ ।
उनले आफुँले प्रतिनिधिसभाको उम्मेदवार भएसंगै जनतालाई दिएको बाचा पुरा गरेको बताए ।

‘दर्जनौ पटक हिमाली जिल्लाका लागी प्रयास गरेको थिए,‘प्रयास सफल मात्रै भएन्, म्याग्दीलाई पनि हिमालै हिमालको जिल्लाको रुपमा समेत प्रचारप्रसार गर्न पाइन्छ’ थापाले भने । हिमालै हिमालले घेरिएको म्याग्दीलाई हिमाली जिल्लामा समावेश नगर्दा म्याग्दीका जनतालाई अन्यायको अवस्थामा प्रतिनिधिसभा संगै सरकारका मन्त्री सहित विभिन्न कार्यक्रममा समेत आफुँले लगातार हिमाली जिल्ला भएको प्रमाणित गर्ने प्रयास गरेको समेत उनले बताए ।

विश्वमै चर्चित हिमाल म्याग्दीमा छन्,‘हिमाली जिल्ला कायम गराउन आवश्यक मापदण्ड पुगेकाले नै घोषणा भएको उनले बताए । म्याग्दीमा रहेका साना तथा ठुला हिमाल सहित हिमाल फैलिएको क्षेत्रफल सहितको विवरण समेत बुझाएका थिए । हिमाली भूगोल भएपनि पहाडी जिल्ला कायम गरिएकोमा बजेट विनियोजन, पर्यटन प्रर्वधन, हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट प्राप्त हुने रोयल्टी लगाएत राज्यको प्राथमिकतामा पर्न नसकेको अवस्थामा अव हिमाली जिल्ला घोषित संगै धेरै सुविधा सहित बजेटमा समेत प्राथमिकता हुने छ ।

म्याग्दीमा रहेका धौलागिरी, अन्नपूर्ण, गुर्जा, चुरेन, पुथा हिमाल विश्वमै चर्चित छन् । त्यस्तै मानापाथी, बराह लगाएत दर्जनको हाराहारीमा हिमश्रंखला रहेका छन् ।बेनी नगरपालिका, मंगला, मालिका गाउँपालिका बाहेक धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हिमश्रंखलाले छोएको छ । जिल्लाका दुई गाउँपालिकाको नामाकारण समेत हिमालकै नामबाट गरिएको छ ।जिल्ला समन्वय समितिले समेत हिमाली जिल्लामा सूचिकृत गर्न माग गर्ने निर्णय गरेर पठाएको थियो । जिसस प्रमुख देबेन्द्र बहादुर कटुवालले हिमाली क्षेत्रमा समावेशको खवरले उत्साहित भएको बताए ।

उनले जिसस मार्फत विभिन्न कार्यक्रमका साथै मन्त्रालयसम्म पुगेर समेत प्रयास गरिएको बताउँदै जिल्लाको विकासमा कोशेढुगा सावित हुने बताए । हालै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई समेत गत बैशाख ३० गते आयोजित म्याग्दी भ्रमण बर्षको उद्घाटन समारोहमा हिमाली जिल्ला घोषणा गर्न माग सहित प्रमाणहरु प्रस्तुत गरिएको थियो । हाल हिमाली जिल्लाको रुपमा २० जिल्ला रहेकोमा म्याग्दी समेत थपिएर २१ पुगेको छ ।