म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो ।

६५ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट सिस्नेरी र खवाङका ५३ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले जानकारी दिनुभयो । २०७४ माघ ३ गतेदेखि सुरु भएको आयोजना निर्माण कार्य शुक्रबार सकिएको छ ।कुवाँ, पधेरा र खोल्साको दुषित पानी उपभोग गर्दै आएका स्थानीयबासी घरघरमै नियमित खानेपानी उपलब्ध भएपछि खुसी भएका छन् । स्थानीय एउटा सामुदायिक विद्यालयमा पनि बालमैत्री सार्वजनिक धारा निर्माण गरिएको छ ।

दन्दुर, तल्लो दुन्दुर र महखोलाको मुहानको पानीबाट आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका, नेपाल र फिनल्याण्ड सरकारले ४५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि उपभोक्ताहरुले २० लाख रुपैयाँ बराबरको श्रमदान गरेका अध्यक्ष सुनारले बताउनुभयो ।

एक घरले ११० दिनका दरले श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकट, यातायातको असुबिधा र ढुवानीको समस्याको बावजुद पनि निर्धारित समयमै खानेपानी आयोजना निर्माण गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट, प्राबिधिक इन्द्र चन्द्र, वास सहजकर्ता गंगा बरुवाल लगायतको टोलीले तेस्रो किस्ता अनुदान निकासाका लागि सिफारि गर्न शुक्रबार आयोजनाको स्थलगत अनुगमन गरेको छ । सन्तोष गौतम