बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा महाशिवरात्रीको तयारी पुरा भएको छ । शिवरात्रीको अवसरमा पाल्ने भक्तजनलाई सहज पुजाआजा सहित गलेश्वरको प्रवेशद्धार देखि मुख्य मन्दिरसम्म आवश्यक सम्पूर्ण तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख राम बानियाँले बताए । उनका अनुसार महाशिवरात्रीलाई लक्षित गरी विभिन्न २३ उपसमितिले आफ्नो जिम्मेबारी अनुसार तयारी पुरा गरेको बताए ।

महदेव शिवको पुजा गर्न म्याग्दीका विभिन्न स्थानका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट समेत भक्तजनहरू आउने भएकाले पनि गलेश्वर बजारमा प्रवेश गर्ने सवारीसाधनलाई रोकेर पैदल आवतजावत, विभिन्न स्थानमा संघसंस्थाका स्वयमसेवक सहित आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार अत्याधिक भक्तजनको चापलाई ब्यवस्थापन गर्न साधा पोशाकमा प्रहरी सहित समितिका सदस्य समेत उपस्थिती हुने बताए ।

मन्दिरसंगै कालिगण्डकी स्नान गर्न जाने भक्तजनलाई समेत सहज आवतजावत गर्ने गरी स्थानीय गलेश्वर शिव यूवा क्लवलाई जिम्मा दिइएको छ ।विहानै देखी पुजाआजा गर्न मन्दिर भित्र र बजारसम्म लाइन पुग्ने भएकाले पनि अन्तिम तयारीको समिक्षा समेत गरिएको छ। पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई गरगहाना विनै आउन कोषले अनुरोध गरेको छ ।

परिसरमा चोरी हुनसक्ने भन्दै सिसी क्यामेरा समेत जडान गरिएकाले पनि कुनै घटना नघटेको ब्यवस्थापन पक्षले जनाएको छ । मन्दिरमा सुरक्षा, पुजा तथा बत्ति,गणेश मन्दिर दर्शन, नरिवल फुटाउने, शिवलिङ्ग दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, शिवचक्रशिला परिक्रम, जलपान, भोजन, गाडी पार्किङ, पुजा साम्रागी विक्री बजारलाई समेत ब्यवस्थित बनाइएको छ । यसबर्ष शंकर भगवानको नटराज अवतार ४६ फिटको अग्लो त्रिशुल आर्कषक मानिएको छ । त्यस्तै शिव भगवानको नृत्य अवतार नटराजको मूर्तिको अनावरण समेत रहेको छ ।

शिवरात्रीको रातमा शिवजीको दर्शन गरेमा हिंस्रक जातिले पनि मुक्ति पाउने धार्मिक परम्परा छ । यसैविच मन्दिरमा सुन र तामाको बेलपत्र चढाउने ब्यवस्था समेत मिलाइएको छ । सधै वृक्षको बेलपत्र चढाउने गरेका भक्तजनहरूले ११ सय ११ रुपैयाँ उपलब्ध गराएर चढाएका थिए । धार्मिक विश्वास अनुसार बेलपत्र महादेवको प्रिय बनस्पति भएकाले पनि भक्तजनले आफ्नो मनोकामना पुरा गर्न सुन र तामाको बेलपत्र समेत खोज्ने गरेका थिए ।