तिथिका हिसाबले त्रयोदशी भए पनि सोमबार शिवरात्रि मनाइँदैछ। पुराणहरूमा फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि मनाइने विधान छ। चलनचल्तीका पञ्चाङ्गमा सोमबार २५।२९ आर्थात् दिउँसो ४ ४० पछि मात्र चतुर्दशी लाग्ने बताइएको छ। मंगलबार ३०।५३ घडीसम्म चतुर्दशी रहे पनि त्यसपछि औँसी लाग्ने कारण सोमबार नै शिवरात्रि मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए। तिथि घटबढ नहुने वैदिक कालगणनाका अनुयायीले भने मंगलबार नै शिवरात्रि व्रत गर्नुपर्नै बताएका छन्।

‘वैदिक मान्यताअनुसार तिथि टुटफुट हुँदैन। अहोरात्र हुन्छ’, वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले भने, ‘मंगलबार बिहान चतुर्दशीको सूर्योदय हुन्छ। भोलिपल्ट सूर्योदय नभएसम्म रहन्छ।’ त्यसैले सोही दिन शिवरात्रिको व्रत बस्नुपर्ने उनको तर्क छ।  दिनभर उपवास बसी रात्रिकालीन शिवपूजन गर्ने विधान छ। पुराणमा चारप्रहरका पूजाको विधि बताइएको छ। शिवका पाँच वक्त्र(मुख) सद्योजात, वामदेव, तत्पुरुष, अघोर र ईशानको पूजा गर्नुपर्छ ।

यी मुखको पूजा गर्दा दूध, दही, घिउ, मह र सख्खरले स्नान गराइन्छ। विशेषरी चन्दन सेता पुष्प, अक्षता र बेलपत्र चढाएर शिवको पूजा गरिन्छ। यो व्रत शिवभक्तका लागि विशेष रहेको पुराणविद् प्रियंवदा काफ्ले बताउँछिन्। उनका अनुसार चौधवर्ष निरन्तर व्रत गरी साङ्गे गर्ने विधान छ। विधिपूर्वक व्रत गर्नाले सयौँ अश्वमेध यज्ञ गरेको फल पाइने लिङ्गपुराणअन्तर्गत शिवरात्रि कथामा उल्लेख छ। अज्ञानवश गरेको पूजाले पनि व्याधाले मुक्ति पाएको प्रसंग कथामा आउँछ।

पूजाका विभिन्न विधि भए पनि शिवाय नमः वा ओम् नमः शिवाय  मन्त्रले मात्रै पूजा गर्दा पनि फल पाइने पुराणमा उल्लेख छ। यो दिन शिवलिङ्गपूजाको विशेष महत्त्व छ। त्यसैकारण पशुपतिनाथ, किरातेश्वर, गोकर्णेश्वर, डोलेश्वरलगायत शिवलिंग रहेका क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्छ। यीमध्ये पनि पशुपतिनाथको महिमा विशेष छ। नेपालमाहत्म्यमा पशुपतिनाथको उत्पत्तिबारे वर्णन छ। पशुपतिनाथको दर्शन गर्न भारतदेखि भक्तजन आएका छन्।  Thakhabar.com