अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान दोसल्लेमा महिलाको सक्रियतामा गोरेटो बाटो निर्माण गरिएको छ । स्थानीयको सहजताका लागि जनजागृति आमा समुहको पहलमा गाउँपालिका, स्थानीय र चन्दा संकलन गरी निर्माण गरिएको हो । महभीरबाट दोेसल्ले जोड्ने बाटो अत्यन्त अप्ठ्यारो भएका कारण लामो समयदेखि आवतजावतमा सास्ती ब्यहोदैं आएका स्थानीयले गोरेटो बाटो विस्तारले सहज भएको बताएका छन् ।

कुल ९ लाख ६३ हजार ८७० लागतमा सम्पन्न भएको बाटोमा आमा समुहले ३ लाख ५८ हजार ९३०, चन्दा संकलन ३ लाख ६० हजार ४४० र गाउँपालिकाको अनुदान १ लाख ९८ हजार र जनश्रमदान ४६ हजार गरिएको थियो । गोरेटो बाटो सम्पन्न भएपछि सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले गाउँको विकासमा सरकारी बजेटको मात्रै्र मुख तोक्न नहुने बताए ।

सोही अवसरमा उपाध्यक्ष केशमायाँ मगरले बजेटको सदुपयोग गदैं विकास निर्माणमा समेत महिला सक्रियता आवश्यक रहेको बताईन् । त्यस्तै छिमेकी रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले सरकारी बजेटमा समुदायले समेत सहभागिता जनाएका योजनाहरु दिगो हुने गरेको बताए ।

उनले समुदायको आवश्यकता अनुसार बजेट विनियोजन गर्न सकेमा समस्यालाई सहजै समाधान गर्न सकिने बताए । करिव ६ सय मिटर विस्तार तथा मर्मत गरिएको गोरेटो बाटोमा सहयोग गर्ने चन्दादातालाई सम्मान समेत गरिएको थियो । उद्घाटन समारोहमा वडा अध्यक्ष गमबहादुर फगामी, गम चन्द्र पुन, हर्क बहादुर पुन, समाजसेवी चन्द्र बहादुर पुन लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता निलप्रसाद पुन, गोरेटो बाटोको बारेमा समुहकी अगुवा एवम् वडा सदस्य मायाँदेवी पाईजाले जानकारी गराएकी थिईन् भने स्वागत धन बहादुर पुजाले गरेका थिए । सुरेन गुरूङ