पश्चिम म्याग्दीका क्यान्सरपीडित एक यूवालाई यूकेमा बसोबास गर्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । मालिका गाउँपालिका –६ ,रातोढुङ्गाका बोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत दुखु निवासीका दलबहादुर रोका मगरको संयोजकत्वमा म्याग्देली सहित नेपालीबाट संकलित दुई लाख ४६ हजार ८ सय ५२ रुपैयाँ पिडित रोका मगरको परिवारलाई हस्तान्तरण गरिएको हो ।

मंगलबार आर्थिक सहयोग संकलन अभियान संयोजक एवम् समाजसेवी रोका मगरले एक कार्यक्रमका बीच स्थानीय युवा क्लब,आमा समुह तथा विभिन्न सरोकारवालहरुको उपस्थितीमा पिडित रोका मगरको बुबा खगेन्द्र रोका मगर र आमा मनकुमारी रोका मगरलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए । यूकेमा धेरै सहयोग अभियान सञ्चालन हुने भएपनि आर्थिक अभावले नै उपचारमा देखिने समस्यामा परेकालाई सहयोग जुटाउन सहज रहेको उनले बताए । क्यान्सर पिडित रोका मगर दरबाङमा रहेको जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा पीडितका पिता खगेन्द्रले आर्थिक अभावले धेरै समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले उपचारमा सहज हुने बताए । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य अनिल राम्जाली मगर, स्थानिय मिटेरी युवा क्लब तथा नेपाल मगर संघ मालिका गाउँपालिका इकाई अध्यक्ष राजेन्द जुग्जाली मगर, पश्चिम म्याग्दी मगर समाज पोखराका अध्यक्ष चित्र बहादुर रोका मग, जनहित आमा समुह उपाध्यक्ष मनसुपा रोका मगर, सति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल गुरुङ ,स्थानिय लमसुङ दोविल्ना वन उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद रोका मगर लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा सहयोग हस्तान्तरण गर्ने रोकालाई स्थानिय आमा समुहले सम्मान समेत गरेका थिए ।
पीडितलाई सहयोग हस्तान्तरण गदैं । तस्वी सौजन्य साधन राम्जाली