प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा एकैदिन दुई लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रीको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट ३ लाख १४ हजार २५० रुपैयाँ भेटी संकलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले बताए । भेटीको दुरुपयोग हुन नदिने गरी शिवरात्री, साउने सोमबार, बालचतुदर्शी लगाएतका पर्वको दुईदिन भित्र सार्वजनिक गर्ने गरिएको छ ।

मन्दिरमा हरेक बर्ष भौतिक पूर्वाधारका साथै शिवजीको दर्शनका लागि आउने भक्तजनलाई सहज भएकाले पनि बर्षेनी भेटी बृद्धि हुने गरेको बताए । गतबर्षको शिवरात्रीमा २ लाख ६६ हजार ९८८ रुपैयाँ भेटी संकलन भएको थियो ।

गलेश्वरमा महाशिवरात्रीमा करिव ५० हजार भक्तजनले दर्शन गरेका छन् । जिल्लाका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट भक्तजनहरू आएका थिए । गलेश्वर मन्दिरमा साउने सोमबार,शिवरात्रीमा समेत दर्शनार्थीको घुईचो लाग्ने गरेको छ ।

साउने सोमबार, बालाचर्तुदशीपछि धेरै भक्तजन शिवरात्रीमा आउने गर्दछन् । मन्दिरमा संकलन भएको भेटीले संस्कृत पाठशाला, जेष्ठ नागरिकको आश्रम, लगाएत धार्मिक क्षेत्रमा खर्च गर्ने गरिन्छ ।भेटी संकलन देखी गन्ने अवधिभर मन्दिर नजिक रहेको प्रहरी चौकीबाट समेत प्रहरीको उपस्थिीत हुने गरेको छ ।कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानव निर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । मन्दिर भित्र भेटीको दुरुपयोग हुन नदिने गरी विभिन्न स्थानमा सिसी क्यामेरा समेत जडान गरिएको छ ।मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई अन्न आश्रममा निशुल्क भोजनको ब्यवस्था रहेको छ।