जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पुख्यौली समुहले गाउँमा रहेको एक मन्दिरमा तीनवटा शौचालय र खानेपानीका धारा निर्माण गरेका छन् । मन्दिरमा पूजाआजा गर्ने भक्तजन तथा पुजारीलाई शौचालयको अभावले समस्या भएपछि आसपासको क्षेत्रमा नारच्याङ लेखबेसी पुख्यौली समुहले गाउँको मिस्तरामा भन्ने ठाउँमा अवस्थित निलगिरी शिवालय मन्दिरमा करिब २ लाख ९० हजारको लागतमा शौचालय निर्माण गरेको अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले जानकारी दिए ।

गाउँमा सामुहिक रुपमा गाउने र नाँच्ने पुख्यौली नाच मार्फत सङ्कलन भएको आर्थिकबाट शौचालय निर्माण गरिएको थियो । शौचालयको उद्घाटन संगै चन्दादातालाई सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले पुख्यौली समुहको सक्रियताले पूर्वजका भाषा, वेशभुषा, संस्कार, इतिहास, रीतिरिवाजहरुको संरक्षणका साथै विकास निर्माणका क्षेत्रमा समेत सहयोग पुगेको बताए ।

उनले कलिला बालबालिकालाई समेत पुख्यौली नाचको सीप हस्तान्तरणमा समेत सक्रिय रहेको समुहका गतिविधिलाई वडा तथा गाउँपालिकाबाट समेत सहयोग गरिने बताए । सयौंबर्ष पुरानो इतिहास रहेको पुख्यौली जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुमा पर्ने जन्म, विवाह, भात खुवाइ, छेवरपास, मेलापर्व, उत्सव, स्वागत तथा सम्मान कार्यक्रमबाट संकलन भएको आर्थिकले मन्दिरमा आवश्यक पूर्वाधार विस्तार गरेको समुहका अध्यक्ष लोक बहादुर फगामीले बताए ।

‘खर्च कटाएर बचत भएमा समुदायमै लगानी गछौं,‘सानो सहयोगले पनि गाउँमा दिर्घकालिन प्रयोग हुने संरचना बनाउन सकिन्छ’ उनले भने । समुहले गाउँमा जनचेतनामुलक, सरसफाई, मेलापर्वमा आफ्नो प्रस्तुतका साथै गाउँमा रहेको खेमखोला साङ्गोमा ढुंगाको पुल र गोरेटो बाटो समेत निर्माण गरेको थियो । दुखःसुख, मायाँ पिरतीको विषयबस्तुलाई प्रस्तुत गरिने भएकाले पुख्यौली नाचलाई जर्गेना गर्ने अभियानमा विदेशमा पुगेका नारच्याङबासीले समेत सहयोग गर्ने गरेका छन् ।