सांसद कोमल वलीले दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गर्दै विवादित अभिव्यक्ति दिएकी छन् ।कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने अपशब्द प्रयोग गरेकी हुन् ।

उक्त कार्यक्रममा सांसद वलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छन, “आफू मरिसकेपछि डुमै राजा ।” जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन् । जुन नेपालको संविधान र कानून विपरितको शब्दावली हो ।

वलीको यो शब्दावलीका कारण कथित दलित समुदाय अन्तर्गत पर्ने डुम जातिको आत्मसम्मानमा ठेस पुगेको छ । संविधान र कानुनले निर्दिष्ट गरे विपरितको शब्द प्रयोग गरेकी वलीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने दलित अगुवाकर्मीहरुको जोडदार माग छ ।वलीलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा १२ बमोजिम कारबाहीको माग गरिएको छ ।

५६ मिनेट २३ सेकेण्डको उक्त “इट्स माई सो” कार्यक्रमको ४७ मिनेट ५० सेकेण्ड जाँदा सांसद ओलीले मृत्युपछिको प्रसंग चलिरहँदा ‘आफु मरिसकेपछि डुमै राजा’ भन्ने शब्दावली प्रयोग गरेकी छन् ।

नीति नियम बनाउनुपर्ने ठाउँमा भएकी उनले के बोल्ने, के नबोल्ने भन्ने कुराको सामान्य चेत पनि नराख्दा सिङ्गो समुदायले उनबाट के अपेक्षा गर्ने भन्ने गम्भिर प्रश्न उठेको छ । देशका हरेक समुदायको मर्म र भावना बुझेर सोही अनुसार संसदमा प्रस्तुत हुनुपर्ने व्यक्तिले नै विपन्न समुदायप्रति चोट पुग्ने भाषा वोल्दा सिङ्गो दलित समुदाय नै अपमानित भएको महसुस गरेको छ ।

नेपालको संविधान र ऐन कानूनले पनि जातिय रुपमा कसैलाई पनि होच्याउने, अपमान गर्ने त्यस्ता शव्द प्रयोग गर्नमा रोक लगाएको छ ।कयौं वर्ष सञ्चार माध्यम तथा सूचना सम्प्रेषण गर्ने निकायमा रहेर काम गरिसकेकी वलीको हैसियतबारे पनि दलित समुदायले प्रश्न उठाएका छन् । यस्तै सशक्त दलित एकता समाज दक्षिण कोरियाले सांसद वलीले प्रयोग गरेको अपशब्दको विरोध गर्दै प्रेस बिज्ञप्ति निकालेको छ । सांसद वलीलाई नेपालको वर्तमान कानुन बमोजिम कारबाही गर्नुपर्ने माग समाजको रहेको छ । दैनिक नेपाल