नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूह सामूहिक छलफलमा जुटेका छन्।सभापति शेरबहादुर देउवा पक्षले आफूहरूको असहमति हुँदाहुँदै बहुमतका आधारमा केन्द्रीय समितिबाट विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूह सामूहिक छलफलमा जुटेका हुन्।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले मंगलबार र बुधबार अब कसरी प्रस्तुत हुने भन्ने रणनीति तयार गर्न छलफलमा जुटेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष यादव, पूर्व महामन्त्री सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शेखर कोइराला, कमला पन्त, मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका हुन्।

‘पार्टीलाई कसरी सुदृढ बनाउन सकिन्छ भनेर कुराकानी भएको हो,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘पार्टीभित्रका विभिन्न मुद्दाहरूमा सामूहिक धारणा बनाउन सकिन्छ कि भनेर छलफल गरिएको हो।’यसअघि सभापति देउवा समूहले अनुशासन समिति गठन गर्न खोजेपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो।बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राखेपछि पार्टीभित्र विवाद छ।५६ जिल्ला सभापतिले महासमितिको निर्णयबाट केन्द्रीय समिति पछि हटेको भन्दै नेतृत्वको आलोचना पनि गरेका छन्। नेविसंघ तदर्थ समिति गठनबारे पनि कांग्रेसभित्र विवाद छ।कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित छ।