आज एक सय नवौं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । सहर बजारमा महिला अधिकारीका सुन्दर वाक्यहरु लेखिएका प्लेकार्ड बोकेका महिला र अधिकारकर्मीहरुको ¥यालीले बजार परिक्रमा गरी विशाल सभाहरु आयोजना गरिएका छन् । ती सभाहरुमा श्रमिक महिलाको विषयमा प्रवचन भैरहेको छ । श्रमिक महिलाहरुको अधिकारका विषयमा लामा लामा भाषणहरु गरिदै छ । तर म्याग्दीका ग्रामिण भेगका महिलाहरुको अवस्थाभने दशकौं अघिकै जस्तो जस्ताको त्यस्तै रहेको छ ।
दिन भरी खेतवारी, नदी खोला,भवन वा भौतिक निर्माण भैरहेका ठाउँहरुमा ज्याला मजदुरी गरेर गुजारा गर्ने महिलाहरुले पुरुषले भन्दा बढि श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् ।पुरुष कामदारहरुसंगै दिन भरी काममा घोटिने र पुरुषले भन्दा बढि काम गर्ने महिला श्रमिकहरु ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य भएका छन् ।

कृषि क्षेत्रमा कामगर्ने महिला मजदुरदेखि लिएर औधोगिक क्षेत्रमा काम गर्ने महिला मजदुरहरुको अवस्था पनि उस्तै रहेको छ । सदरमुकाम बेनी स्थित एक सरकारी भवन निर्माण स्थलमा मजदुरी गर्दै आएकी ३२ वर्षिया शोभा विक पुरुषको तुलनामा महिलाले आधा ज्याला पाउने गरेको बताउनुहुन्छ ।

‘मैले मसला बनाउने,ढुङ र ईट्टा बोक्ने, वालुवा ल्याउने सबै काम गर्छु’ विकले भन्नुभयो ‘पुरुष कामदारसंगै काम गर्नु पर्छ,उनले गर्ने सबैकाम मैले पनि गर्छु तर,ज्याला पाउँदा पुरुष कामदारले दैनिक १ हजार रुपैयाँ पाउँछन् भने मैले पाँच सयमा चित्त बुझाउनु पर्छ ।’

कृषि क्षेत्रमा काम गर्ने महिलाहरुको अवस्था पनि त्यस्तै छ । लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीको कृषि क्षेत्र महिला श्रमिकहरुको श्रमले नै धानिएको छ । कृषिको ७५ प्रतिशत काम महिलाहरुले नै गर्दै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । तर, तिनै महिलाहरु पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका छन् ।

शुक्रवार(आज) बिहान बेनी नगरपालिका वडा नं २ बगरफाँटमा खेत खनिरहेकी मिठु परियारले दिनभरी खेत खनेको जम्मा ४ सय रुपैयाँ पाउने बताउनुभयो । पुरुषले सोही काम गरेको ८ सय रुपैयाँ ज्याला बुझ्दा महिला कामदारले भने त्यसको ठीक आधा मात्र ज्याला पाउने उहाँको गुनासो थियो ।

कृषि र औधोगिक क्षेत्रमा काम गर्ने महिलाहरुमात्रै होइन शिक्षण संस्थाहरुमा काम गर्ने चेननशील महिलाहरु समेत आफूले प्राप्त गर्ने पारिश्रमिकमा ठगिने गरेको गुनासो गरेका छन् । जिल्लाका निजी तथा संस्थागत विद्यालयहरुमा अध्यापन गर्ने शिक्षिका र कर्मचारीहरु मात्रै होइन सरकारी तथा सामुदायिक विद्यालयको बाल कक्षामा पढाउने शिक्षिका र कर्मचारीहरु पनि पुरुष शिक्षक वा कर्मचारीको तुलनामा आधा कम पारिश्रमिक लिएर काम गर्न बाध्य भएको गुनासो गरेका छन् ।

पुरुष कामदारले भन्दा बढि श्रम गरेपनि ज्यालामा भने ठगिनु परेको महिला श्रमिकहरुको भनाइसंग जिल्लाका महिला अधिकारकर्मीहरु पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमका कार्यक्रमहरुको भाषण गरेपनि श्रमिक महिलाहरुको अधिकारका बारेमा महिला अधिकारकर्मीहरुले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाहरुले बताएका छन् ।

जिल्लाका महिला अधिकारकर्मी, मानवअधिकार कर्मी लगाएतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनि विभिन्न राजनीतिक दलका भातृसंगठन, उद्योगी,व्यवसायी लगाएत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाहरुको ज्यालामा बृद्धि हुन नसक्नु दुखद पक्ष रहेको महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ ।
म्याग्दीका महिला अधिकारकर्मी हिरा पौडेलका अनुसार कानुनमा नै ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिएकोले त्यसको विरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेहरुलाई कडा कारबाही गरिनु पर्ने बताउनुभयो ।

कानुनको कार्यान्वयन गराउने निकाय नै श्रमिक महिलाहरुको श्रमप्रति उदासिन रहेकोले यो अवस्था आएको उहाँको भनाइ थियो । त्यसका साथै महिलाहरुमा पनि हामी पुरुषको तुलनमा कमजोर छौं भन्ने भन्ने परम्परागत सोंचाइ र पुरुषहरुमा महिलाहरु भन्दा धेरै काम हामीले गर्छौं भन्ने अहम्का कारण पारिश्रमिक (ज्याला) मा एक रुपता कायम हुन नसकेको उहाँको भनाइ थियो ।

कृषि र औधोगिक क्षेत्रमा मात्रै होइन जलविद्युत र सडक निर्माण जस्ता जोखिमपूर्ण कामहरुमा समेत महिला श्रमिकहरुले काम गर्दै आएका छन् । यस्ता जोखिमयुक्त क्षेत्रहरुमा काम गर्ने मजदुरहरुको सुरक्षा र हितका लागि रोजगारदाता कम्पनि, ठेकेदार वा मालिकले कुनै पनि सहुलियत नदिएको सम्वन्धित क्षेत्रमा कामगर्ने महिला श्रमिकहरुले बताएका छन् ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी लिलादेबी अर्यालले महिला र पुरुष दुवैको सोंचमा परिवर्तन आउन नसकेको र शारिरिक तथा प्राकृतिकरुपमा पुरुषहरु भन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुषको बराबर काम गर्न सक्दैनन् भन्ने मानिसिकता नहटेकोले ज्यालामा एकरुपता हुन नसकेको हो भन्नुभयो ।आखिर जे भएपनि महिला श्रमिकहरु आफ्नो श्रममा ठगिनु परेको छ । मरीमरी काम गर्दा पनि महिला श्रमिकहरुले श्रमगरेवापतको पारिश्रमिक वा ज्याला पाउन सकिरहेका छैनन् । उनीहरुको श्रमशोषण भैरहेको छ भने महिला हिंसा पनि बढिरहेको जिल्लाका बुद्धिजीविहरुको भनाइ रहेको छ ।