नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु यही फागुन २५गते म्याग्दी आउने भएका छन् ।
नेपाली कांग्रेस जिल्ल कार्यसमिति म्याग्दीको नवनिर्मित कार्यालय ‘वि.पी. स्मृति भवन’ को उद्घाटनका लागि सभापति देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री रामचन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी आउने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

पार्टी कार्यालयको उद्घाटन पछि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्कीले जानकारी दिनुभयो । २५ गते हुने आमसभाको तयारी तीब्र पारिएको उहाँले बताउनुभयो । आमसभामा ५ हजार कार्यकर्तालाई समावेस गराउने उद्धेश्य सहित तयारी भएको सचिव कार्कीले जानकारी दिनुभयो । आमसभा संगमचोकमा हुने जनाइएको छ ।

प्रचार प्रसारका लागि गाउँगाउँमा कार्यकर्ताहरु खटिएका छन् । अहिले दुई तिहाइको बहुमतको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बेला सरकारको खबरदारी गर्नका लागि पनि जनता २५ गते हुने कार्यक्रममा आउने नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजाले बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि करिब दुई बर्षमा भवन निमार्ण गरेको थियो । २९ लाख ५९ हजार ४२५ रुपैयाँ लगानीमा भवन निमार्ण गरिएको जिल्ला कार्यसमितीका कोषाध्यक्ष टंक हमालले जानकारी दिनुभयो ।