सन्तोष गौतम
बेनी २४ फागुन । ‘लैङगिक समानताका लागि समान सोच र व्यवहार ः सम्बृद्धिको आधार’ भन्ने मूल नारा सहित शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।

बेनी नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ संस्थाहरुले ¥याली, अन्तरक्रिया, सभा र समारोहको आयोजना गरेर दिवस मनाएका हुन् । मालिका गाउँपालिकाको ७ वटै वडामा महिला हक अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

दरवाङमा वडा अध्यक्ष सन्तनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बालबिवाह, घरेलु हिंसा बिरुद्ध स्थानीय महिलाहरुले सडक नाटक प्रस्तुत गरेका थिए । उपाध्यक्ष बिटालुको प्रमुख आतिथ्यता, सुआहारा कार्यक्रमकी फिल्ड सुपरभाइजर सुमित्रा पौडेलको सञ्चालन र कार्यपालिका सदस्य गौमती चपाइको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

विभिन्न सन्देशमुलक प्ले कार्ड र ब्यानर सहित दरवाङ बजार परिक्रमा गरेपछि आयोजित कार्यक्रममा न्यु दरवाङ महिला सहकारीका अध्यक्ष सुनमाया गुरुङ, लक्ष्मी सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

धवलागिरी गाउँपालिका ६ मराङमा वडा अध्यक्ष राजाराज सुवेदीको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य तिलकुमारी केसीको अध्यक्षता, जनविकास माविकी शिक्षिका पार्वती सुवेदीको सञ्चालन र अस्मिता पौडेलको स्वागत मन्तब्यमा महिला दिवस मनाइएको छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा भु–तातोपानी र घारका एक÷एक जना जेष्ठ महिला र एक÷एक जना जेष्ठ एकल पुरुषलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । भूरुंगकी लालकुमारी कार्की, घारकी पद्मा गिरि, भुरुंगका एकल पुरुष हर्कबहादुर गर्बुजा र घारका तोमबहादुर बरुवाललाई कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सम्मान गर्नुभएको थियो ।

कालीगण्डकी आमा समूहकी अध्यक्ष भुवनदेवी खत्रीको अध्यक्षता, कार्यपालिका सदस्य बिष्णु परियारको स्वागत, स्वमसेविका सुनिता बरवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सल्लाहकार खड्ग गिरिले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भूरुंग तातोपानीका महिला समूहले महिला अधिकार सम्बन्धी गित र नृत्य प्रस्तुत गरेका थिए । अन्नपूर्ण गाउँपालिकाको हिस्तानको औलामा ¥याली आयोजना गरिएको कविता पुनले जानकारी दिनुभयो । यसैगरी राम्चेमा पनि महिला दिवस मनाइएको छ ।

मंगला गाउँपालिकाको आयोजनामा बायिबाचौरमा उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता, अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यता, वडा सचिव शकुन्तला अधिकारीको स्वागत र सहायक महिला विकास निरिक्षक डमसरा पुनको सञ्चालनमा महिला दिवस मनाइएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र अधिवक्ता ममतादेवी शर्माले महिला अधिकार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो भने जनआदर्श महिला बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष यशोदा रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।