स्थानीय समस्याहरुको पहिचान गरी समाधान गर्ने उद्देश्यसहित आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा ग्रामीण भेगका नागरिकहरुले गुनासाहरु तेस्र्याएका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, शिखमा जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा सेवाग्राही नागरिकले गुनासो पोखेका हुन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा शिख र घारका स्थानीयवासिन्दाले सबैभन्दा धेरै विद्युत कार्यालयसँग सम्बन्धित प्रश्नहरु गरेका थिए । उनीहरुले छिनछिनमा बत्ती जाने समस्याले गर्दा पर्यटक र आफूहरुलाई समस्या भएको, विद्युत कार्यालयका कर्मचारीहरु मर्मतका लागि समयमा नआएको, बत्ती कम बालेको भए पनि बिल धेरै आउने गरेको जस्ता गुनासो गरेका छन् । उनीहरुले शिख र घार क्षेत्रमा विद्युत पटकपटक जाने गरेका कारण पर्यटकलाई वास बस्नै समस्या हुने गरेको बताएका थिए ।

यसैगरी भूकम्पले शिख माध्यमिक विद्यालय भवन भत्किएपछि पूनर्निर्माणका लागि निवेदन दिए पनि अहिलेसम्म योजना नपरेको, शिख गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र नहुँदा स्थानीयलाई समस्या भएको हुँदा स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, शिखको स्वाँतमा निर्माणाधीन पुलको निर्माणमा ढिलाई भएकोमा ठेकेदारलाई कारवाही गर्नुपर्ने जस्ता समस्याहरु उठाइएको थियो । त्यस्तै भूकम्पको लाभग्राहीमा परेर घरको पूनर्निर्माण सुरु गरिए पनि अहिलेसम्म पहिलो किस्ता नपाएको, पोखरेबगर–घार–शिख–चित्रे हुँदै पर्यटकीयस्थल घोरेपानी जोड्ने सडकको स्तरोन्नतिमा ढिलाई, गाँजा लगाउन पाइने कि नपाइने, लक्षित क्षेत्रमा पर्याप्त बजेट नभएको र मालपोत कार्यालयमा जाँदा समयमा काम नहुने गरेको गुनासो आएका थिए ।

सार्वजनिक सुनुवाइमा बागविर पाईजा, केदार कार्की, सेते तिलिजा पुन, तेसबहादुर पूर्जा र दिर्जु रन्तिजासहित दर्जन बढी सहभागीले प्रश्न उठाएका थिए । उनीहरुले गरेको प्रश्नको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, विद्युत प्राधिकरणका प्रमुख नेत्रमणि न्यौपाने, भूकम्प पूनर्निर्माण प्राधिकरण कार्यान्वयन इकाई प्रमुख शिवराम गेलाल, प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, वडा अध्यक्षद्वय कृष्णप्रसाद बरुवाल र दिनेशकुमार पुनले जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख केसीले स्वाँतको पुल निर्माणमा ढिलाई भएकोप्रति ठेकेदारलाई यसअघि नै सचेत बनाइएको हुँदा सम्झौता अनुसार काम नभए कार्वाही गरिने बताएका छन् । प्रजिअ अधिकारीले सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन जनताको अपेक्षा र सुझाव सङ्कलनका लागि सार्वजनिक सुनुवाई गरिएको बताउँदै शिखमा प्रहरीचौकी स्थापनाका लागि पहल गरिने बताए । प्रजिअ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पत्रकार कमल खत्रीले सहजीकरण गरेका थिए ।