नेपाली कांग्रेसका सभापति एवम् भुतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको तातोपानीकुण्डमा डुबेर आनन्द लिनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको कार्यालय बिपी स्मृति भवनको उद्घाटनका लागि म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेता द्धयले तातोपानीमा डुबेर बाहिर निस्केपछि म्याग्दीको तातोपानी प्राकृतिक उपचारको केन्द्र भएको बताउनुभयो ।

 

 

 

 

बेनी नगरपालिका ४ सिंगातातोपानीस्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्डलाई प्राकृतिक चिकित्साको क्षेत्रमा विश्वमा चिनाउनु पर्ने बताउँदै सभापति देउवाले यस्ता प्राकृतिक स्रोतहरुको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले यस्ता स्रोतहरुको संरक्षण र प्रवद्र्धनका लागि माथिल्लो निकायबाट नै पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । तातोपानी कुण्डमा डुबेर बाहिर निस्केपछि सभापति देउवाले आफूलाई निकै आनन्द आएको प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा डुबेपछि आफूलाई स्वर्गिय आनन्दको अनुभूति भएको बताउँदै प्रकृतिले दिएको यस्तो अमूल्य बरदानको भरपूर फाइदा स्थानीलयले लिनुपर्ने बताउनुभयो ।सभापति देउवाले तातोपानी कुण्डको अवलोकन गर्नुका साथै तातोपानी कुण्ड व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयवासिन्दाहरुसंग प्राकृतिक चिकित्सालय तातोपानीको जानकारी लिनु भएको थियो ।

आनन्द आयो : देउवा,अलौकिक आनन्दको अनुभूति भयो : पौडेल

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले सभापति देउवालाई तातोपानी कुण्डको महत्व र यसको व्यवस्थापनको बारेमा जानकारी गराउनुभएको थियो । सभापति देउवाले तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनका लागि नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसैगरी म्याग्दी नदीको कटानका कारण समस्यामा परेको तातोपानी बजारको संरक्षणका लागि पनि पहल गर्न सम्वन्धित निकायमा पहल गर्नेे उहाँले जानकारी गराउनुभयो ।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा स्नान समेत गर्नुभयो । यहाँ ७ दिनसम्म लगातार स्नान गरेमा ग्याष्ट्रिक,गानोगोला,चर्मरोग,सर्केमर्केको,प्यारालाइसेस लगाएतका रोगहरु निको हुने गर्दछन् ।म्याग्दी नदीको किनारमा अवस्थित मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको विरेनुन र गन्धक सहितको सुगन्ध आउने तातोपानी कुण्डमा स्नान गर्न गत मंसिरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामवहादुर थापा पनि आउनुभएको थियो ।

म्याग्दीमा आउने उच्च पदस्थ व्यक्तिहरु सिंगा तातोपानी कुण्डमा पनि आउने गरेका छन् ।प्राकृतिक चिकित्सालयको अवलोकन पछि सभापति देउवा बेनीस्थित नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयको उद्घाटन गर्न बेनी जाने कार्यक्रम रहेको छ ।