गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा म्याग्दी च्याम्पियन भएको छ । पोखरामा जारी प्रतियोगितामा म्याग्दीले कास्कीलाई २ का विरुद्ध ३ सेटले गण्डकी प्रदेशको उपाधी जितेको हो । दुईदुई सेट आफ्नो पक्षमा पारेका थिए । अन्तिम सेटमा म्याग्दीले कास्कीलाई १२ का विरुद्ध १५ अंक बटुल्दै उपाधी जितेको म्याग्दीका प्रशिक्षक तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए । उनका अनुसार कास्कीलाई निकै प्रतिस्पर्धात्मक खेलमा रोक्न सक्नु ठूलो उपलब्धी भएको बताए ।

प्रतियोगिताको अवलोकन गर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा सहितको टोली समेत पुगेको थियो । प्रतियोगितामा म्याग्दीकी अरुण शाही चम्किदाँ कास्कीको टोलीले उपविजेतामै सिमित भएको थियो । म्याग्दीबाट राष्ट्रिय खेलाडी शाही,पवित्रा विसी, सृजना पाईजा, रेविना घर्ती, सुस्मी पुर्जा, मायाँ तिलिजा, मेनुका तिलिजा, दुर्गा पाईजा र निसा पाईजा लगाएतका खेलाडी मैदानमा छन् ।

प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोट खेल अन्तरगत म्याग्दीले मुस्ताङ, नवरपुर र पर्वतलाई पराजित गदैं फाइनलमा प्रवेश गरेको थियो । खेलाडी बीचको तालमेलका कारण उपाधी जित्न सहज भएको म्याग्दीको टोलीले प्रतिक्रिया दिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा म्याग्दीबाट भलिबल सहित अन्य विधामा समेत राष्ट्रिय खेलका लागी गण्डकीबाट छनौटको सम्भावना रहेको छ ।