आन्दोलनका स्वरुपहरु धेरै हुन्छन् । शान्तिपूर्ण, सशस्त्र, सत्याग्रह बाहेक आन्दोलन गर्ने धेरै तरिका छन् । आफ्ना माग राखेर कहिले सडक बन्द गराउँदै, कहिले जिन्दावाद मुर्दावादको नारा घन्काउँदै आन्दोलन गर्छन् । तर, पछिल्लो समय सरकारविरुद्ध आन्दोलनमा उत्रिएका ट्याक्सीचालक भने पृथक रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

केही समयअघि चिकित्सक बिरामी जाँच्न छाडेर आन्दोलनमा उत्रिए । केही दिन अघि मात्रै राहत शिक्षक आन्दोलनमा उत्रिए । निषेधाज्ञा जारी गरेको ठाउँमा प्रवेश गरेपछि प्रहरीले गरेको दमनलाई लिएर हस्तक्षेप भन्दै उनीहरु आन्दोलित बने । तर, यही भीडमा ट्याकसी चालकले गर्दै आएको विरोध प्रदर्शनले धेरैको मन छोएको छ । सबैको ध्यान तान्नेगरि आफुले चलाउने ट्याक्सीको अघिपछि आफ्नो माग र आफ्नो पिडालाई ब्यानर बनाएर टाँसेका छन् ।

जसले गर्दा उनीहरुको माग के हो पिडा के हो भन्ने कुरा आम मानिसलाई जान्न सहज भएको छ भने उनीहरुको आफ्नो बिरोधपनि निरन्तर चलेको छ । असन्तुष्टि पोख्दा अरुको अधिकारको पनि हेक्का राखेर उनीहरुले गरेको विरोधको शैलीलाई अधिकांशले मन पराएका छन् ।

सरकारले ट्याक्सी चालकको मनोमानी र ठगी नियन्त्रणका लागि २०६९ साल देखि कम्प्युटाइज विलिङ सिस्टम सहित भाडा दर निर्धारण गरेको थियो । तर, हालसहाल १४ रुपैयाँ देखि शुरुभई पहिलो प्रतिकिलोमिटर ३९ रुपैयाँ पर्छ । ट्याक्सी व्यवासायीहरुले बैज्ञानिक भाडाँदर कायम गराउन माग गर्दै सांकेतिक आन्दोलनले सरकारलाई दबाब परेको ट्याक्सी चालकको भनाइ छ ।

केही समयअघि जापानमा समेत ट्याक्सी चालक आन्दोलनमा उत्रिएका थिए । तर, उनीहरुको पनि विरोध गर्ने शैली फरक थियो । सर्वसाधारणलाई निशुल्क सेवा दिएर गरिएको विरोधले सरकार लाचार भएको थियो । सडकमा टायर बाल्ने, आवतजावत नै प्रभावित हुने गरी नारा जुलुस लगाउने परिपाटी भन्दा ट्याक्सी चालकले गरेको यो पृथक ढंगको विरोधले सरकारको ध्यान एक दिन अवश्य तानिनेछ ।