नेपाली कांग्रेसका सभापति एवम् भुतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र सिके राउतबीच भएको सहमतिको पार्टीले अध्ययन गरिरहेको बताएका छन् । स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भएपनि सरकारले बुदाँगत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने बताए ।

पार्टीको भवन उद्घाटनका लागि म्याग्दी आएका देउवाले आइतबार प्रेस यूनियन म्याग्दीले आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवैपक्ष बीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमतसंग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने बताए । ‘जनमतसंग्रहको प्रयासमा सरकार लागेमा कडा प्रतिरोध गछौं,‘सहमतिलाई अध्ययन गर्नुपर्ने देखिन्छ’ देउवाले भने ।

उनले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने प्रयास सकारात्मक भएको बताए । देशमा शान्तिसुरक्षा कायम गर्न विभिन्न समुहलाई शान्तिपूर्ण राजनीतिको मूलधाराम ल्याउने सरकारको प्रयास सकारात्मक भएपनि सरकार सञ्चालनमा सहज हुने गरी मनपरी गर्न नदिने संकेत देउवाको थियो । पत्रकार सम्मेलनमै देउवाले पार्टीभित्रको विवादलाई अन्त्य गर्ने आफ्नो प्रयास रहको बताए । उनले पार्टीभित्र विधान अनुसार चल्नुपर्ने भएपनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निकालेको बताए ।

उनले नेपाल विद्यार्थी संघको विवाद अन्त्य गर्ने बताए । महासमितिको बैठकले पारित गरेका विषयमा पत्रकारले राखेको जिज्ञासामा देउवाले पुराना सभापतिले सञ्चालन गरेको पद्धतीलाई निरन्तरता दिएको बताए । उनले वडाबाटै निर्वाचित भएर आउनुपर्नेमा आफुँलाई कुनै समस्या नभएको बताउँदै आगामी महाधिवेशनबाट नयाँ रुप आउने बताए । पत्रकार सम्मेलनमा जिल्ला सभापति खम्बीर गर्बुजा, पूर्व सांसद रेशम बहादुर बानियाँ, अर्जुनप्रसाद जोशी लगाएतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको अध्यक्षता प्रेस यूनियनका अध्यक्ष राकेश शर्मा, स्वागत कोषाध्यक्ष सुरेन गुरुङ र सञ्चालन सचिव साधन राम्जालीले गरेका थिए ।