नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानी कुण्डमा सँगै डुबुल्की मारेर नुहाउँदैमा आन्तरिक एकता नहुने बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन कास्की कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भावनात्मक रुपमा एकता नभएको बताएका हुन् ।‘तातोपानी कुण्डमा सँगै डुब्दैमा एकता हुँदैन । व्यवहारमा नभई मुखले हामी एक भयौं भन्दैमा एकता हुने होईन’ उनले भने, ‘तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भएको भनी प्रचार गर्नुको कुनै तुक छैन् ।

नेता पौडेलले पार्टीमा आन्तरिक रुपमा एकता हुनका लागि आफूले उठाएको एजेण्डामा एकता हुनु पर्ने बताए । ‘आन्तरिकरुपमा एकता हुन एजेण्डमा एकता हुनु पर्यो, इस्युमा एकता हुनुपर्यो,’ उनले भने, ‘तबमात्र वास्तविक एकता कायम हुन्छ ।’कांग्रेस सभापति शेरबहादुर देउवा र पौडेलले यही शनिवार म्याग्दीमा रहेको तातोपानी कुण्डमा सँगै नुहाएका थिए । त्यसको भोलिपल्टै पौडेलले कुण्डमा डुबेको कुरालाई एकतासँग नजोड्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता पौडेलले स्थायी स्वार्थ रहिरहेसम्म एकता कायम हुन नसक्ने बताए । ‘स्वार्थमा लिप्त भएसम्म एकता हुँदैन’ उनले भने ।नेता पौडेलले पार्टीभित्रको अनुशासन समिति र निर्वाचन समिति स्वतन्त्र नभएको समेत आरोप लगाए । ‘न्यायिक समितिले सबैलाई समान न्याय दिन पर्छ तर, पार्टीमा त्यो हुन सकेको छैन,’ पौडेलले भने, ‘न्यायलय निष्पक्ष हुनुपर्छ,पक्षपाती भए जनताले न्याय पाउँदैनन् ।’

नेता पौडेलले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार पूर्णरुपमा असफल भएको आरोप लगाए । ‘मुलुकमा शान्ति कायम गर्न, सुशासन तथा सुरक्षाका मामिलामा सरकार पुरै असफल भइसकेको छ, यसलाई आधार बनाएर नेपाली कांग्रेस जनताको माझमा जानुपर्छ,’ पौडेलले भने, ‘निर्मला पन्तको घटना मात्र होइन, अन्य ठाउँहरुमा समेत हत्या, हिंसाका घटना घटिरहेका छन, सरकार निरीह बनिरहेको छ, अपराधीको पत्ता लगाउन अझै पनि सकेको छैन । lokaantar.com