जिल्लाको अति विकट गूर्जा जोड्ने र्पैदलमार्गमा हिउँ नपग्लिदा खाद्यान्न अभाव भएको छ । धवलागिरी गाउँपालिका वडा नं २ लुलाङ, देउराली, लट्बाङ हुदैं गूर्जा पुग्ने पदैलमार्गमा करिब ४ फिट हिउँ जमेको कारण पैदलयात्री, खाद्यान्न ढुवानी गर्ने खच्चड आवतजावत गर्न समस्या भएको गाउँपालिका प्रबक्ता एवम् गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बेनीअनलाइनलाई बताए ।

‘बाटो अवरुद्ध छ, गाउँमा आवश्यक पर्ने खाद्यान्न साम्रागीको अभाव सुरु भएको छ’ छन्त्यालले भने । उनले गत फागुन १४ र १५ गते परेको बर्षासंगैको हिमपातले गुर्जा जोड्ने प्रमुख मार्ग हिमपातकै कारण बन्द भएको छ । लुलाङ र गूर्जाको सिमाना पर्ने देउरालीमा करिव चार फिट हिम जमेको छ । देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो ।

चट्टानजस्तै हिउँ नपग्लिदाँ गूर्जाबाट गाउँपालिकाको केन्द्र हुदै सदरमुकाम बेनी आउने स्थानीयले गूर्जाबाट मुदीको अर्चे हुदै मुदी गाउँबाट मुना तर्फ जाने गरेपनि अत्यन्त जोखिमपूर्ण भएकाले समस्या भएको बताएका छन् । जाडोयामका लागि आवश्यक पर्ने खाद्यान्नको ब्यवस्थापन गरेका स्थानीयले हिमपातले मार्ग अवरुद्ध भएपछि अभाव झेल्दै आएको बताएका छन् ।

छिमेकी बागलुङ र रुकुम जिल्लाबाट समेत गूर्जा जोड्ने मार्गमा हिमपात भएपनि सोही मार्गबाट खाद्यान्न सहितका अति आवश्यक साम्रागी ल्याउन समस्या हुने गरेको स्थानीय बताउँछन् । चैत्र महिनाको अन्तिमसम्म पनि गाउँ आसपासमा हिउँ जमेका कारण कलिला बालबालिकादेखि बृद्धबृद्धााई समस्या भएको स्थानीय गोर्खा छन्त्यालले बताए । उनका अनुसार बस्ती आसपासका चरन क्षेत्रमा जाने बाटो समेत सहज छैन् । गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन् ।अध्ययन, ब्यापारब्यवसाय, उपचारका लागि स्थानीले हिउँ जमेका कारण जोखिम झेल्नुपरेको छ । जमेको हिउँलाई हटाउन स्थानीयले श्रमदान गरेपछि बाख्लो भएकाले समस्या भएको बताएका छन् ।