भाइरलको प्रकोपबाट म्याग्दी मालिका गाउँपालिका ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयका विद्यार्थी बिरामी परेपछि पठनपाठन प्रभावित भएको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने, रिंगटा लाग्ने समस्याबाट दिच्याम बासिन्दाहरु पनि प्रभावित भएका छन्। ४७ जना विद्यार्थी भाइरलबाट बिरामी परेका विद्यालयका प्रअ जगतबहादुर खत्रीले बताए।

भाइरल प्रभावित क्षेत्रमा सोमबार गाउँपालिका र वडाका जनप्रतिनिधिको पहलमा  लायन्स क्लव अफ म्याग्दी दरबाङको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विद्यालयमा अध्ययरत विद्यार्थी भाईरल ज्वरो र रुघाखोकीबाट ग्रसित भएपछि क्लवको संयोजनमा प्राथमिक उपचार केन्द्र दरवाङका प्रमुख डा. गणेश श्रेष्ठ र डा. तिलक गौतम सहितको प्राविधिक टोलीले विद्यालयमा अध्ययरत विद्यार्थीको स्वास्थ्य परिक्षण गरेको लायन्स क्लव दरबाङका सचिव दिवाकर सुबेदीले बताए ।

उनका अनुसार विद्यार्थीको समस्यालाई मध्यनजर गरी औषधी सहितको सुविधा समेत उपलब्ध गराइएको बताए । दरबाङको अब्बल फर्मका सञ्चालक थमन गौतम, इप्रका दरबाङबाट खटिएका सुरक्षाकर्मीको टोलीलाई क्लवका अध्यक्ष एवम् दरवाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए । फर्मका सञ्चालक गौतमले शिविरमा आवश्यक पर्ने औषधी निशुल्क उपलब्ध गराएका थिए । 

शिविरको अवसरमा बोल्दै सुबेदीले लायन्स मार्फत सामाजिक तथा मानविय सेवालाई केन्द्रित गरेर काम गर्ने बताएका थिए । ‘मालिकाभित्रका सबै बस्तीका जनतालाई सेवा दिन्छौ,‘विपद्मा लायन्स संगसंगै छ’ सुबेदीले भने । लायन्स क्लवले स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएकालाई उपचार सहित विभिन्न कार्यक्रम गदैं आइरहेको छ ।