म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीको पूर्व प्राथमिक तहका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयले आयोजना गरेको शिविरमा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुको दाँत, आँखा, कान, नाक, घाँटीलगायत स्वास्थ्य परीक्षण गरिएको थियो ।

बालविकासदेखि कक्षा ३ सम्मका ३ सय १० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताए । बालविकासका विद्यार्थीलाई अक्षर सहित ब्यवहारिक ज्ञानलाई केन्द्रित गरी पठनपाठन सञ्चालन गर्ने गरिएको बताए।बेनी अस्पतालका डाक्टर अनिल पाण्डे नेतृत्वमा आँखा उपचार केन्द्रका प्राविधिक र विद्यालयको स्वास्थ्य युनिटका प्रमुख अनिता गौतमले बालबालिकाको स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरमा ८० प्रतिशत बालबालिकामा दाँतको समस्या देखिएको डाक्टर पाण्डेले बताए ।बालबालिकाले बढी मात्रामा गुलियो र जङ्क फुड खानेकुराहरु खाँदा दाँत र स्वास्थ्यमा असर पर्ने भएकाले अभिभावकले सावधानी अपनाउनुपर्ने डा. पाण्डेले सुझाव छ । बालबालिकासंगै अभिभावक समेत पुगेका थिए । स्वास्थ्यकर्मीहरुको टोलीलाई, प्रिन्सिपल खुमबहादुर केसीले स्वागत र विदाई गरेका थिए ।