सदरमुकाम नजिक भएपनि जिल्लाकै जोखिम सडकमा पर्ने बेनी नगरपालिका–३ भकिम्लीको सडकमा बेनी नगरपालिकाले बिनियोजन गरेको रकमले अपुग भएपछि गाउँलेको सक्रियतामा सडक स्तरउन्नतीले तिब्रता पाएको छ । ट्याक मात्रै खोलिएको सडकको घुम्तीमा साँघुरो, भिरालो जमिनले निजी तथा भाडाका सवारीसाधनमा आवतजावतमा सकस भएपछि नगरपालिकाले ३५ लाख बिनियोजन गरेपनि जोखिमपूर्ण सडक मर्मतमा बजेट अपुग भएपछि सडकको प्रयोग गर्ने स्थानीयले समेत अपुग बजेटलाई जनश्रमदानबाटै सडकको काम सम्पन्न गदैंछन् ।

सडकमा श्रमदान गर्नेमा यूवासंगै ६० देखी ७३ बर्ष उमेरका बृद्धबृद्धाहरु समेत कस्सिएका दृष्य देखिन्छ । उमेरले डाँडो काटेका बृद्धबृद्धा सिमेन्ट, बालुवा, गिटी रडसंगै रमाउँदै सडक मर्मत तथा स्तरउन्नतीमा सक्रिय छन् । मंगलबार सडकखण्ड उमेरले सात दशक अर्थात ७० बर्ष नाघेका चन्द्रमणी छन्त्याल सहित ७१ ब्र्षिया डिल्लीराम थापा,६७ बर्षिय डम्बर बहादुर छन्त्याल र ६९ बर्षिया रतिमा छन्त्यालले समेत सडक मर्मत तथा ढलानमा तन्नेरीसंगै प्रतिस्पर्धामा काम गरेको दृष्य र्हेन लायकको थियो । बृद्धबृद्धासंगै वडा अध्यक्ष पदम पुनले समेत मजदुरले जस्तै सडक मर्मतमा जुटेका थिए ।

जिल्लाको सदरमुकाम जोड्ने सबैभन्दा छोटो दुरीको सडकस्तरबृद्धिका लागि उपभोक्ताले निर्मांण साम्रागी ढुवानी, सडक ढलान, तारजाली, खाजाको ब्यवस्थामा ६९ बर्षिया रमिता छन्त्याल समेत सक्रिय थिईन् । सडकखण्डमा बृद्धबृद्धाले श्रमदान गर्नु रहर नभई बाध्यता भएको वडा अध्यक्ष पुनले बताए । यो सडकमा स्थानीयको धेरै पसिना बगेको छ,‘सरकारी बजेटले पुग्दैन्, घरघरबाटै बृद्धबृद्धा आएर काम गर्नुहुन्छ’ पुनले बेनीअनलाइनलाई भने ।

उनले भकिम्लीमा सडक स्तरउन्नती सहित विकास निर्माणमा स्थानीयको सक्रियताले सहज भएको बताए । चालु आवमा हल्लेगौडादेखि मुसुङसम्म आवश्यक स्थानमा मर्मत तथा जोखिमपूर्ण घुम्तीमा ढलान सहितको कार्यमा करिव ६ सय जनाको संख्यामा स्थानीयले श्रमदान सुरु गरेको बताए । जोखिम सडकका कारण बर्षेनी छिटफुट दुर्घटना हुन थालेपछि आफुँले प्रयोग गर्ने सडकलाई नमुना बनाउन स्थानीयले सक्रियता देखाएको वडा सदस्य रत्न जिसीले बताए । ‘जनश्रमदानमा स्थानीयको सक्रियता धेरै छ । सडक केहीदिनमै प्रयोग गर्न मिल्छ’ जिसीले भने ।

उनका अनुसार सडक फराकिलो बनाउने, घुम्ती सुधार, ग्रेड मिलाउन, ढलान गर्ने, ढुंगा संकलनमा मजदुर र जनश्रमदान परिचालन गरिएको थियो । करिव १७ किलोमिटरको सडक खण्ड अन्र्तरगत हल्लेगौडाको भिरमा साढे चार मिटर चौडाईमा ९० मिटर ढलानको काम भइरहेको छ । सडक मर्मत तथा स्तरउन्नतीका लागि सडक बन्द गरिएको छ । सडक सञ्जालले जोडिएका गाउँबाट प्रति दिन एक घरधुरीले एक दिन श्रमदानमा आउने गरेका छन् ।

विगतमा ट्याक खोल्न ब्यक्तिगत लालपुर्जा समेत धितो राखेका स्थानीयले बेनी नगरपालिकाबाट प्राप्त बजेटले हल्लेगौडामा ढलान, तारजाली तथा माथिल्लो क्षेत्रमा सडक फराकिलो सहित स्तरउन्नतीको काम गरेका छन् । जनश्रमदानका कारण सिमित बजेटले समेत स्थानीयलाई हल्लेगौडादेखि मुसुङडोलेसम्म सडक विस्तारमा सहज भएको छ । वि.स २०६६ मा ट्याक खोलिएको सडक निर्माणको क्रममा समेत स्थानीयले जनश्रमदान संगै आफ्नो ब्यक्तिगत लालपुर्जा समेत धितो राखेर सडक सम्पन्न गरेको बताए ।

तत्कालिन समयमा जिविस र गाविसको बजेटले अपुग भएपछि सहकारीमा उपभोक्ता समितिका अध्यक्ष पृथिप्रसाद पुन लगाएतको लालपुर्जा धितो राखेर सडक खनिएको थियो। सडक निर्माणसंगै स्थानीयलाई आवतजावत संगै पर्यटकीयस्थल स्वर्गाआश्रम, बेलढुंगा र छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जा लगाएतका गाउँका सर्वसाधारणलाई समेत आवतजावतमा सहज भएको छ ।