गूर्जामा खेलमैदान निर्माण

फुटबल लगाएतका खेलमा स्कुले विद्यार्थीको रुची बढिरहेको बेलामा जिल्लाको अति विकट गूर्जामा ब्यवस्थित ब्यवस्थित खेल मैदानको निर्माणकार्य सुरु भएको छ । धवलागिरी गाउँपालिका वडा नं १ गूर्जामा गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानमा गाउँ नजिक रहेको काना बराहमा खेलकुद मैदानको निर्माण सुरु गरिएको वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता झकप्रसाद छन्त्यालले बताए । उनका अनुसार गाउँपालिकाको ५ लाख र स्थानीयबासीको १ लाखको श्रमदानमा निर्माण भइरहेको खेलमैदानमा ७ ए साईड फुटबल, बास्केटबल र भलिबल खेल सञ्चालनका लागि सहज भएको बताए ।

निर्माणधिन अवस्थामा रहेको खेलमैदान ६५ मिटर लम्बाई र ३० मिटर चौडाई रहेको उपभोक्ता समितिका अध्यक्ष थम बहादुर छन्त्यालले बताए । उनका अनुसार खेलमैदानको अभावका कारण जनकल्याण माविमा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थामा खेलमैदानको निार्मणले सहज भएको बताए । खेलमैदानको निर्माणसंगै स्थानीयले खेलकुद गतिविधिसंगै अन्य सामाजिक क्रियाकलाप, मेलापर्वलाई समेत सञ्चालन गर्न सक्नेछन् । गूर्जा गाउँको प्रवेशद्धारमै निर्माण भइरहेको खेलमैदानलाई आवश्यकता अनुसार स्तरउन्नती समेत गरिने जनाइएको छ ।