सरकारी कार्यालयले सरकारी बैंकमा खाता नखोलेको भन्दै सामाजिक सुरक्षा भत्ताको रकम कृषि विकास बैंकले होल्ड गरेर राख्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । झण्डै एक महिनासम्म रकम कृषि विकास बैंकले आफ्नो खातामा राखेर सेवाग्राहीको खातामा ‘ट्रान्सफर’ नगर्दा सामाजिक सुरक्षा÷भत्ता लिने नागरिकहरु समस्यामा परेका हुन् । सामाजिक सुरक्षाभत्ता वितरण गर्नेमा सबैभन्दा धेरै सास्ती कृषि विकास बैंकमा हुने गरेको छ ।

‘पहिला बैंक आउँदा पैसा छैन भन्थ्यो, अहिले पैसा त आएको रहेछ बिहानै आएको २ बजिसक्यो पैसो पाउने हो की होइन थाहा छैन’ बेनी नगरपालिका–४, की दिलमती श्रीषले भनिन् । श्रीष जस्तै धेरै व्यक्तिहरु भत्ता लिन बिहानैदेखि लाइनमा बस्दा बेलुकासम्म पालो आउने उनीहरु सुनाउँछन् । ‘बिहानै आएर लाइनमा बस्दा पनि तीन चार बजेभन्दा पहिला पालो आउँदैन जस्तो छ’ दिउँसो २ बजे भेट्दा थामडाँडाकी चन्द्रकली घलेको गुनासो थियो ।

‘वृद्धभत्ता कहिल्यै ट्याममा सजिलोसँगै पाएनौं । चर्को घाम र चिसो हिउँदमा पनि दिनभर लाइन लगाएर बस्नुपर्छ’ बेनी नगरपालिका सोताका गोरे घर्तीले गुनासो गरे । उनी भन्छन्, आमालाई लिएर आउँछु ८४ वर्षको उमेरमा हिँड्न सक्ने कुरा भएन लाइन बस्न पर्ने समस्या भयो । ‘बरु पहिला सचिवले दिन्थे र सजिलो हुन्थ्यो अहिले सरकारी व्याङ्कबाट गर्दा न समयमा पाइने न सजिलै पाइने ।’

बेनी नगरपालिकाले दोस्रो चौमासिकको रकम गएको माघ १६ गतेको चेकबाट निकासा पठाए पनि भुक्तानी जिम्मा पाएको कृषि विकास बैंकले सामाजिक सुरक्षा भत्ता रकमलाई ‘होल्डिङ’ गरेर राखेको थियो । कृषि विकास बैंकले आफूले माघ २२ गते मात्र रकम प्राप्त गरेको बताउँछ । माघ २२ गते प्राप्त गरेको रकम कृषि विकास बैंकले होल्ड गरेर राखेको बैंकले फागुन १३ गतेको बेनी नगरपालिकाको नगर कार्यपालिका बैठकमै कृषि विकास बैंकका कार्यालय प्रमुखलाई बोलाएर छलफल भएपछि फागुन १५ पछि मात्र वितरण सुरु गरेको थियो ।

बृद्धबृद्धाले कृषिको ठाउँमा अन्य सहज हुने बैंक रोज्न समेत माग गरेका छन् । कृषिका कर्मचारीले सामाजिक सुरक्षा भत्ता बाहेक अन्य खाता नगरपालिकाबाट नआएको भन्दै आलटाल गर्ने गरेको जानकारी पाएपछि नगरकार्यपालिकाको बैठकमै जनप्रतिनिधिले बैंकका प्रमुखलाई सहज वितरण गर्न सचेत गराएका थिए ।

बेनी नगरपालिकाको १० वटा वडामध्य ८ वडाको ज्येष्ठनागरिक (अन्य), ज्येष्ठनागरिक (दलित) एकल महिला र विधवालाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण कृषि विकास बैंकले जिम्मा लिएको छ । बेनपा–२, ज्यामरुककोटका सेवाग्राहीले कैलाश विकास बैंक, वडानम्बर १० पात्लेखेतले ग्रीन डेभलपमेन्ट बैंकबाट भत्ता बुझ्ने गरेका छन् । अपाङ्गता र अति अशक्त भत्ता बैंक अफ काठमाण्डुले वितरण गरेको बेनपा–३, भकिम्लीको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको कैलाश विकास बैंकले भने भकिम्लीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरी रहेको बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताए ।

उनका अनुसार वडानम्बर १० को जिम्मा पाएको ग्रीन डेपलभमेन्ट बैंकले पनि रकम प्राप्त गर्ना साथ वितरण थालेको थियो । बेनी नगरपालिका सामाजिक सुरक्षा शाखाका अनुसार बेनी नगरपालिकामा ज्येष्ठनागरिक (अन्य) १ हजार ५ सय ७४ जना, जेष्ठनागरिक (दलित) ४ सय ४४ जना, एकल महिला २ सय ६५ र ५ सय ८९ जना विधवाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।