निःशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविरमा बिरामीको घुइँचो लागेको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको बेनी अस्पताल परिसरमा बुधबारदेखि सञ्चालित निःशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविरमा सर्वसाधारण तथा बिरामीहरुको भीड लागेको हो ।

हामी नेपाली काठमाण्डौंको आयोजना, बेनी र पर्वतमा क्रियाशिल लायन्स क्लबहरुको सह–आयोजना तथा बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय एवं नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौं, बेनी अस्पताल म्याग्दी, नेपाल रेडक्रस सोसाइटी आाँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

शिविरको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जलजला गाउँपालिका–३ पर्वत बेनीका ८५ वर्षीय दलबहादुर खत्रीलाई नामदर्ताको बिरामी पूर्जा हस्तान्तरण गरी उद्घाटन गरेका थिए । शिविर उद्घाटनसत्रमा बोल्दै उनले ग्रामीण भेग तथा बजार क्षेत्रभित्र रहेर पनि आर्थिक अभावमा अस्पताल जान नसकेका आँखाका रोगबाट पीडित बिरामीहरुलाई शिविरले ठूलो सहयोग पुग्ने बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जिल्लामा सञ्चालित आँखा शिविरले बिरामीहरुलाई ठूलो राहत मिलेको बताउँदै शिविर सञ्चालनका क्रममा आवश्यक सबै सहयोग गरिने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सुखी नेपाली बन्न र समृद्ध नेपाल बनाउनका लागि पछौटेपनको अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा हामी नेपाली संस्थाका उपाध्यक्ष गंगाराम शर्मा पौडेल, आक्स फाउण्डेशनका डाइरेक्टर डा. सन्देश मैनाली, अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए । शिविर उद्घाटनसत्र लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षता, लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठको स्वागत र लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

शिविरमा निःशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशनलगायत चस्मा र औषधीको व्यवस्था गरिएको छ । शिविरको आयोजकहरुमा लायन्स क्लब अफ म्याग्दी दोभान, लायन्स क्लब अफ बेनी म्याग्दी, लायन्स क्लब अफ बेनी मल्लाज, लायन्स क्लब अफ बेनी महारानी, लायन्स क्लब अफ बेनी सिटी, लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दी रहेका छन् ।

आगामी चैत्र १ गतेसम्म सञ्चालन हुने शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर अर्चना शर्माको नेतृत्वमा नेत्ररोग विशेषज्ञ डा. पृथा भट्टराई, शिविर संयोजक कल्याण ढुङ्गाना, दृष्टि विशेषत्र प्रतिभा देवकोटा, स्टाफनर्स मञ्जु शर्मासहितको स्वास्थ्यकर्मीहरुको टोलीले आँखाका रोगीहरुको उपचार गरिरहेको छ ।

शिविरमा म्याग्दीका ६ ओटै स्थानीय तहसहित छिमेकी जिल्ला बागलुङ र पर्वतबाट पनि आँखा रोगीहरु आएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबले विभिन्न समयमा म्याग्दी जिल्लाको गाउँगाउँमा पुगेर आँखा शिविर लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ । लायन्स क्लबहरुले विशेष गरी आँखाका रोगीहरुलाई खोजीखोजी उपचार गर्दै आइरहेका छन् ।