सुगाैली सन्धिपछि गुमेकाे भूमि फिर्ता पाउनुपर्ने माग राख्दै जेनेभामा प्रदर्शन

तत्कालीन अंग्रेज शासकका पालामा भारतले मिचेकाे नेपाली भूभाग फिर्ता पाउनुपर्ने माग गर्दै स्वीट्जरल्याण्डकाे जेनेभामा आज शान्तिपूर्ण प्रदर्शन हुँदै छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयाेजक फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले लिएकाे नेपाली भूभाग फिर्ता गर्नुपर्ने माग उठाएका छन् ।

उनले परिषदको ४० औं सत्रमा सो माग दर्ज गर्दै आफ्नाे सम्बाेधन गरेकाे जानकारी बुधबार दिएका थिए । संयाेजक नेपालले आफ्नो सम्बाेधनका क्रममा भारतले सन् १९४७ यता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको आराेप लगाउँदै उसले उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई अटेर गरिरहेकाे बताएका थिए ।

आज जेनेभामै उनले विरोध प्रदर्शन कार्यक्रम राखेका छन् । भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीकाे विरोधमा जेनेभास्थित ब्राेकन चेयर भन्ने ठाउँमा मार्च १४ अर्थात आज बिहीबार स्थानीय समय अनुसार दिउँसो १२:३० देखि २:०० बजेसम्म विरोध प्रदर्शन कार्यक्रम हुन लागेकाे संयाेजक नेपालले जानकारी दिए ।

उनले जेनेभामा रहेका नेपाली र जेनेभा आउन सक्ने समर्थकलाई साे प्रदर्शनमा सहभाी भइदिन अनुरोध समेत गरेका छन् ।‘नेपालका साथीहरू ! जजसका साथीभाइहरू र आफन्तहरू जेनेभामा बस्नुभएको छ, उहाँहरूलाई पनि जेनेभाको `ब्रोकन चेयर´ मा जम्मा भइदिन अनुरोध गरिदिनुहुनेछ भन्ने अाशा गर्दछु,’ उनले एक वक्तव्यमार्फत भनेका छन्, ‘नेपालभित्र र बाहिरका सम्पूर्ण पत्रकार मित्रहरूसमक्ष पनि यो सूचना सम्प्रेषण गरिदिनहुन आग्रह गर्दछु ।’उनले लामो प्रयासपछि आफूले राष्ट्रसंघीय मञ्चमा ग्रेटर नेपालकाे मुद्दा उठाउन सफल भएकाे क्षणलाई ऐतिहासिक भन्दै आफूले उठाएका कुरा राष्ट्र संघमा अभिलेख रहने बताएका छन् ।