म्याग्दी खोलामा बेपत्ता विद्यार्थीको खोजीमा गोताखोर टोली परिचालन

म्याग्दी खोलामा पौडी खेल्ने क्रममा डुवेर एक बेपत्ता भएका विद्यार्थीको खोजीमा शसस्त्र प्रहरीको गोताखोरको टोली परिचालन गरेको छ । बुधबार बेलुकी बेनी नगरपालिका वडा नं ७ मंगलाघाटको प्रहरी विट नजिकै साथीहरूसंग पौडी खेल्न पानीमा पसेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे काफलडाँडाका १४ बर्षिय हेमचन्द्र गर्बुजाको खोजीकार्यका लागि शसस्त्र प्रहरीको टोली परिचालन गरिएपनि बिहिबार दिनभरी फेला परेको छैन् ।

बेपत्ताको खोजीकार्यमा आवश्यक पर्ने आधुनिक उपकरण सहित खोलामा प्रवेश गरेको शसस्त्रको टोलीले तीनपटकसम्म पनि डुवेको आसपासका क्षेत्रमा फेला पारेको छैन् । घटनास्थलमा क्यामेरा सहित डुवेको स्थाना पुग्दा समेत त्यस आसपासका कुनैपनि स्थानमा नभेटिएको प्रहरीको भनाई उद्धित गदैं स्थानीयले बताएका छन् । घटनास्थल आसपासमा गहिरो भएकाले पनि समस्या भएको बताइएको छ ।

बेपत्ता गर्बुजाको खोजीकार्य जारी छ । बेनी सामुदायिक माविमा कक्षा ९ मा अध्ययरत गर्बुजा तीनजना साथीहरुसंगै खोलामा पौडी खेल्न गएका थिए । बुधबार विद्यालयमा एसईई तयारीमा रहेका कक्षा १० का विद्यार्थीलाई विदाई कार्यक्रममा सहभागी भएर गएका थिए । मंगलाघाटबाट–बगरफाँट जोड्ने झोलुङ्गे पुल नजिक पौडी खेलिरहेको अवस्थामा गर्बुजा बाहिर नआएपछि तत्कालै नजिकै रहेको प्रहरी विटबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

गर्वुजासंगै खोलामा पसेका धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङ मलम्पारका निरप्रसाद छन्त्याललाई उद्धार गरिएको छ । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गहिरो भएको जानकारी गराउँदै गर्दा एक्कासी डुवेपछि नजिकै रहेको प्रहरी बिटबाट गएको टोलीले उद्धार गरेको थियो । गर्मी छल्न म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बर्षेनी बालबालिका र यूवाको ज्यान जाने गरेको छ ।