रघुगंगाको लोकप्रिय अभियान ‘सुकुम्बासी र गरिबलाई घर’

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले नेपालकै पहिलो महत्वकांक्षी योजना ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम’ अन्तर्गत ‘सुकुम्बासी र गरिबलाई घर’ दिने अभियान शुरु गरेको छ । नेपालको संविधान २०७२ ले आधारभुत आवासलाई मौलिक हकको रुपमा राखिसकेको छ । अझै पनि गाउँपालिका भित्र सुकुम्बासी र गरिबले घरवार विहीन भएर जीवन विताउनु परेको छ ।

घरबार विहीन सुकुम्वासी र गरिबलाई गाउँपालिकाको तर्फबाट सुरक्षित आवास दिने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।‘गाउँपालिका अध्यक्ष सुकुम्वासी ब्यवस्थापन तथा आवास सुधार कार्यक्रम’ स्थानीय तहबाट शुरु गरिएको नेपालकै पहिलो कार्यक्रम भएको रघुगंगा गाउँपालिकाको दाबि छ । रघुगंगा गापा भित्रका सवै ८ वटा वडाका सुकुम्बासी तथा विपन्न परिवारलाई यो कार्यक्रममा समेटिने अध्यक्ष भण्डारीले जानकारी दिए । उनले वडा नं२ भगवतीमा जुठी भण्डारीको घरबाट अभियान सुरु भएको बताए ।

कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाका कार्यपालिका सदस्य तोरणबहादुर दर्जीको अध्यक्षतामा ४ सदस्यीय लगत संकलन समिति गठन गरिएको छ । समितिलाई एक महिना भित्र लगत संकलनगरी कार्यापालिकामा पेश गर्ने समयावधी तोकिएको छ । कार्यक्रमका लागि गाउँपालिकाले चालु वजेटमा १० लाख विनियोजन गरेको छ ।

‘यो बजेटले नपुगेमा मैले पारिश्रमिकवापत पाउने सरकारी सेवा सुविधाको रकमबाट स्थापना गरेको अक्षयकोषको रकम पनि परिचालन गरिने छ’ अध्यक्ष भण्डारीले भने । ‘गाउँपालिका भित्र केही आफन्त नभएका बृद्धबृद्धा, अपाङ्ग ब्यक्तिको घर चुहिने र भत्कने अवस्थमा छन । अति प्रभावित परिवारको घरमा छाना हाल्ने लक्ष्य हो’ अध्यक्ष भण्डारीले भने, ‘सुरक्षित आवासमा बस्न पाउने नागरिकको मौलिक अधिकार पनि हो । त्यसैले पहिलो चरणमा सुकुम्बासी र घरवारविहन समेतको लगत योजनामा छौं ।’

सुकुम्बासी, घरवारविहीन तथा विपन्न परिवारको लगत संकलन गर्दा मासिक आय, पैत्रिक सम्पत्तिलाई आधार मान्ने तथा वडाध्यक्षको रोहवारमा टोलसुधार समितिको मुचुल्का अनिवार्य गरिएको जनाइएको छ । कार्यक्रममा छनोट हुने घरपरिवारले सम्वन्धित वडा कार्यालयबाट सिफारिस लिएर आउनु पर्ने प्रावधान राखिएको छ । अहिले गाउँपालिकाका कर्मचारीहरु निर्धारित अनुसूचि लिएर गापा भित्रका ८ वटै वडाका सबै घरधुरीमा पुगी लगन संकलन गरिरहेका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

File Photo : Google