म्याग्दी खोलामा बेपत्ता गर्बुजाको शव भेटियो

म्याग्दी खोलामा पौडी खेल्ने क्रममा चारदिन अगाडी डुवेर बेपत्ता भएका यूवा मृत अवस्थामा फेला परेका छन् । गत बुधबार साँझ विद्यालयबाट फर्किने बेलामा साथीहरुसंग पौडी खेल्न बेनी नगरपालिका वडा नं ७ मंगलाघाटको प्रहरी विट नजिकबाट पानीमा पसेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे काफलडाँडाका १४ बर्षिय हेमचन्द्र गर्बुजाको शव शनिबार दिउँसो भेटिएको हो ।

तीनजना साथीसंगै पौडी खेल्ने क्रममा बेपत्ता भएका गर्बुजाको खोजीकार्यमा प्रहरी र शसस्त्र प्रहरीको गोताखोरको टोली परिचालन गरिएपनि शव नभेटिएपछि शनिबार स्थानीय बुद्ध यूवा क्लवको नेतृत्वाम घटनास्थल आसपासमा डोजरको प्रयोग गरी खोजीकार्यको क्रममा घटनास्थलबाट करिव १० मिटर तल शव भेटिएको क्लवका सल्लाहकार सचिन शाक्यले बेनीअनलाइनलाई बताए । ‘आफ्नै क्षेत्रमा भएको घटनाबाट चिन्तित थियौं, अन्तिम विकल्पको रुपमा खोजीकार्य गर्दा शव भेटिएको हो’ शाक्यले भने ।उनका अनुसार क्लवका अस्लिम खान, सेते बिक र रेशम जुग्जालीले खोलाबाट शव बाहिर निकालेका थिए ।

क्लवको प्रयास र यूवाहरुले जोखिम मोलेर शव निकालेपछि मृतकका आफन्तले सम्मान समेत गरेका थिए । मंगलाघाट संरक्षणको क्रममा घटनास्थल आसपासमा गहिरो भएकाले पनि पौडीमा अभ्यासरत नभएकालाई जोखिम हुने भएकाले पौडी खेल्न कडाई गरिने क्लवका अध्यक्ष बिजय किसानले बताए । मृतक गर्बुजाको शव खोजी तथा परिवारलाई राहत दिन क्लवले २५ हजार संकलन गरेकोमा ५ हजार डोजरको खर्च कटाएर बाँकी परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।

यता मृतकका परिवारले चारदिनदेखि बेपत्ता भएका गर्बुजाको खोजीा सक्रिय प्रहरी सहित सरकारी निकाय र स्थानीयलाई धन्यवाद दिएका छन् । खोजीकार्यमा सक्रियतापूर्वक सहभागी बुद्ध यूवा क्लवलाई समेत सम्मान गरेका थिए । बेनी सामुदायिक माविमा कक्षा ९ मा अध्ययरत गर्बुजासंगै खोलामा पसेका धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङ मलम्पारका निरप्रसाद छन्त्याललाई उद्धार गरिएको थियो । मृतकको शवलाई पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइने छ ।