म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई तालिम

काठमाण्डौमा रहको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १२औं वर्ष प्रवेश गरेको अवसरमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । सहकारीको महिला उपसमितिको आयोजनमा शनिबार संस्थाको कार्यालय गोंगबुमा सम्पन्न भएको कार्यक्रममा महिला सक्षम भएमात्रै समाज सक्षम हुने भएकाले आर्थिक, सामाजिक, राजनीतिक तथा समाजका हरेक क्षेत्रमा महिलाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइएको थियो ।

महिलाको सहभागिता र भूमिकाको विषयमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा प्रशिक्षक सुशिला शेरचनले परिवारका सदस्यमा निर्भर रहेका महिला र आत्मनिर्भर महिलामा धेरै फरक रहेको बताउँदै यस्ता कार्यक्रमले महिलालाई उर्जा मिल्ने बताईन् । उनले सहकारीले महिला सदस्यको आवश्यकतालाई मध्यनजर गरी भविस्यमा पनि निरन्तरता दिनुपर्ने बताईन् ।

प्रशिक्षण कार्यक्रममा व्यक्ति तथा समुह परिचयको विधी,कार्यक्रम उद्घोषण,नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धी सैद्धान्तिक ज्ञान लगायत संस्था तथा समुहको बैंठक संचालन तथा त्यसको निर्णय सम्बन्धी माइन्युट गर्ने तरिका बारे अभ्यासपूर्ण विधिले प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा ३० जना महिला सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा संस्थाका सचिव तथा प्रबन्ध संचालक दिपबहादुर छन्त्याल र प्रबन्धक विष्णप्रसाद पौडेल तथा प्रशिक्षक विद्या खनालले गरेका थिए । प्रशिक्षण कार्यक्रम उपसमितिका संयोजक गीता रावलको अध्यक्षता तथा सहकारी का अध्यक्ष थदेवी पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सहकारीमा म्याग्दीका ६ वटै स्थानीय तहमा जन्मिएर स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको लगानी रहेको छ ।