बन्दले कहिल्यै छुन नसकेको एउटा विद्यालय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।

विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन । मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो । भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन ।

यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन । यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन् ।कुनै समूह विद्यालय बन्द गर्नुपर्छ भन्दै आएमा अभिभावक सामूहिक प्रतिकारमा उत्रन्छन् । त्यसमा शिक्षक र विद्यार्थीले साथ दिन्छन् ।