फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्ने थाहा पाएपछि पछिल्लो समयमा फोहोरलाई मोहोरमा रुपान्तरण गर्न थालिएको छ । विगतमा प्लाष्टिकजन्य बस्तु, सिसाका टुक्रा, काठपात र धुलोलगायत प्रयोग गरेर सकेका सामग्रीहरु फोहोरका रुपमा जहाँतहीँ फाल्ने गरिए पनि अहिले त्यसलाई व्यवस्थान गरिएको हो ।

फोहोरजन्य वस्तुहरु जथाभावी रुपमा फ्याँक्ने गरिएकाले वातावरणको स्वरुप नै कुरुप बन्दै जान थालेपछि पछिल्लोपटक उपभोक्ताहरु पनि सचेत बन्दै गएका छन् । फोहोरले घर, टोल र छरछिमेकका साथै वरिपरीको वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्न थालेपछि यसलाई उचित तरिकाले व्यवस्थापन गरेर मोहोरमा रुपान्तरण गर्न लागिएको छ ।

यसैक्रममा पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आफ्नो सदरमुकाम बाबियाचौर बजार क्षेत्र वरपर हुने फोहोरलाई व्यवस्थापनमा सघाएको छ । गाउँपालिकाले वडामार्फत फोहोरलाई मोहोरमा रुपान्तरण गर्नका लागि तालिम सञ्चालन गरेर फोहोर व्यवस्थापन गरी मोहोर उत्पादनको काम अघि बढाइएको मंगला गाउँपालिकाले जनाएको छ । अहिले बाबियाचौर बजार क्षेत्रबाट फोहोर सङ्कलन गरी मंगला–२, पानाबगरमा खनिएका दुईवटा खाडलमा व्यवस्थापन गरिएको छ । आर्थिक वर्ष २०७३÷७४ को वार्षिक बजेटबाटै फोहोर व्यवस्थापनको अवधारणा अगाडि सारिएको बाबियाचौरका वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले बताए ।

बजारवासीबाट मासिक रुपमा एकसय रुपैयाँ शुल्क उठाएर फोहोर सङ्कलन गरी व्यवस्थापन गर्ने गरिएको उनले जानकारी दिएका छन् । सङ्कलन गरिएको फोहोरलाई ट्याक्टर भाडामा लिई खाडलमा लगेर व्यवस्थापन गर्ने गरिएको वडा सदस्य पाण्डे बताउँछन् । बाबियाचौर बजार क्षेत्रमा मात्रै १ सय ५५ घरधुरी रहेका छन् ।

तीमध्ये केही घरधुरीले फोहोरको व्यवस्थापन आफै गर्ने गरेका छन् । उनले भने, ‘बाबियाचौर बजार क्षेत्रमा पसल सञ्चालन गर्ने, उद्योगी, व्यवसायी र भाडामा बस्नेहरुबाट मासिक एकसय रुपैयाँ लिन्छौं ।’ ‘कुहिने र नकुहिने फोहोरलाई घरबाटै छुट्याएर राखिन्छ भने, महिनाको हरेक शनिबार ट्याक्टरले फोहोर उठाउने गर्छ ।’ एकपटकमा ट्याक्टरले झण्डै ५ टिप जति फोहोर ओसार्ने गरेको छ । यसवापत ट्याक्टरलाई मासिक रुपमा १५ हजार रुपैयाँ भाडा उपलब्ध गराउने गरिएको छ ।

फोहोर सङ्कलन गर्नका लागि सबैका घरघर तथा बजारको चोकचोकमा डस्टविन, बाल्टिन र ड्रमहरु राखिएको छ । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै जम्मा गर्ने गरिएको छ । यसरी कुहिने फोहोरलाई साङ्गा मल (प्राङ्गारिक) उत्पादनका लागि व्यवस्थापन गरिएको छ ।

कुहिने फोहोरका साथै वनजङ्गलमा पाइने वनमारा, तीतेपातीलगायत झारपात र पातपतिङ्गहरु सङ्कलन गरेर मल बनाउने गरिएको वडा सदस्य पाण्डले बताए । उनले दिएको जानकारी अनुसार केही समय पहिले साङ्गा मल उत्पादनसम्बन्धी गाउँपालिकाले तालिम दिएपछि अहिले १० जना युवाहरु मल उत्पादनमा लागेका छन् । उनीहरुले उत्पादन गरेको प्राङ्गारिक मललाई गाउँपालिकाले प्रतिकेजी २५ रुपैयाँमा खरिद गरेर व्यावसायिक रुपमा सुन्तलाजात फलफुल लगाएका कृषकहरुलाई वितरण गरिने भएको छ ।