म्याग्दीका ३१ जना विद्यार्थीहरु यसवर्ष सञ्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट अयोग्य भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नपुगेका, पढ्दापढ्दै बिचैमा छाडेका, बिहे गरी अन्यत्रै गएका जस्ता कारण उनीहरुले परीक्षा दिन नपाउने भएका हुन् ।

एसइई परीक्षा दिन नपाउनेमा सबैभन्दा धेरै धौलागिरी गाउँपालिका–२, लुलाङको लमसुङ माध्यमिक विद्यालयका पाँचजना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । यसैगरी खुलातर्फ ३० जनामध्ये ५ जनाले पनि परीक्षा दिन नपाउने निमित्त इकाई प्रमुख केशबहादुर बुढाथोकीले बताउनुभयो । यही चैत १० गतेबाट सुरु हुन गैरहेको एसइई परीक्षामा म्याग्दीबाट कुल २ हजार २ सय ४२ जना विद्यार्थीहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार दुईजना दृष्टिविहिन विद्यार्थीहरु पनि एसइई परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ १ हजार १ सय ३१ जना छात्र र १ हजार १ सय ११ जना छात्रा रहेको निमित्त इकाई प्रमुख बुढाथोकीले बताउनुभएको छ । यीमध्ये २५ जना खुला, २२ जना प्राविधिक धारतर्फ र ७ जना ग्रेडवृद्धिका विद्यार्थीहरु रहेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा एसइई परीक्षा सञ्चालनका लागि ९ ओटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि आवश्यक तयारीलाई अगाडि बढाइएको छ । जिल्लामा सामुदायिक विद्यालयतर्फ ६२ र संस्थागत ९ ओटा विद्यालयहरु सञ्चालित छन् ।