म्याग्दीको एक गाउँमा तोकिएको समय बाहेक मदिरा बिक्र वा सेवन गरेको पाइएमा ५ सय जरिवाना गरिने भएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ पाउद्धार गाउँमा मनपरी मदिरा विक्री तथा वितरणलाई कडाई गर्न स्थानीय आमा समुह सहित अगुवाहरुको उपस्थितीमा अन्तराष्ट्रिय नारी दिवसको दिनबाटै सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको पाउद्धार माविकी प्रधानध्यापक थममायाँ पुनले बताईन् ।

‘पहिलो चरणमा समय तोकिएको छ,‘अभियानमा सिंगो गाउँले सहमति जनाएकाले प्रभावकारी बन्दैछ’ पुनले बेनीअनलाइनलाई भनिन्। गाउँमा सक्रिय संस्थाको प्रतिबद्धतामै थालनी गरिएको अभियानमा बेलुकी ५ बजेदेखि १० सम्म मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनलाई रोक लगाइएको बताईन् । उनले पहिलो चरणसंगै दोस्रो हुदै अन्तिम सम्म मदिरा सेवनलाई न्यूनिकरण गर्ने गरी योजना बनाइएको समेत बताईन् । दिउसो घरायसी, खेतीपाती लगाएत अन्य गतिविधिमा संलग्न हुने गरेको अवस्थामा साँझ र रातको समयमा मदिरा सेवन गरी झगडा, होहल्लालाई नियन्त्रण गर्न उक्त कदम सुरु गरिएको छ ।

साँझ र रातको समयमा मदिरा सेवन गर्दा घरमा बालबालिकाको पठनपाठनमा समेत असर गर्ने, झगडा हुने भएकाले पनि नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाई छ । निर्णयको उल्लंघन गर्नेलाई जरिवानाको ब्यवस्था गरिएकाले पनि स्थानीयले नै जानकारी दिने गरेको छन् । मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा जरिवाना तिर्न अटेर गर्नेलाई थप कारबाहीका लागि पहल गरिने समेत स्थानीयको भनाई छ । पाउद्धार जिल्लाको पर्यटकीयस्थल खोप्रा, खयरबराह मन्दिर जाने प्रवेशद्धार समेत हो ।