केही वर्ष अघिसम्म सहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसंगै फागु पूर्णिमाको परम्परागत महिमा र रौनक हराउँदै गएको छ । हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिर्इृ जनजीब्रोमा बसेपछि शब्दमा मात्रै होइन फागु पूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिबर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो ।

फागु पूर्णिमामा रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावि लोला हान्ने र मनपरि गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीविहरुको भनाइ रहेको छ । आफ्नो मौलिक परम्परा,प्रचलित संस्कार र संस्कृति भन्दा विपरित किसिमले खर्चिलो र भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढ्दै गएपछि सांस्कृतिक विरासत र धार्मिक महत्वका दृष्टिले पनि अत्यन्त गर्विला यस्ता पर्वहरुमा विकृति भित्रिन थालेको हो ।

‘पहिले पहिले फागु पूर्णिमा आउनु भन्दा दुई÷तीन दिन अघि देखि नै मादल, झ्याली,मुर्चुङ्गा, खैंजडी लगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो’ बेनी नगरपालिका २ का ८१ वर्षिय बेदप्रसाद उपाध्यायले भन्नुभयो ‘अहिले २÷४ दिन अघि देखि नै लोला हान्ने र होलीको नाउँमा पानी र केके भरेर बन्दुक जस्तैबाट गोली हान्ने गर्छन् ।’ शहर बजारमा मात्रै होइन, गाउँघरमा समेत फागु पूर्णिमाको परम्परागत रौनक हराउँदै गएको छ । फागुमा गाइने गीत त अब एकादेशका कथामा परिणत भैसकेका छन् ।

भाका हालेर होरी गाउँने, हात गाँसेर नाच्ने, रचनाको रङ प्रयोग गर्ने, केशरी र अबिर घोलेर रङ लगाइदिने यस्ता प्रचलनहरु हराउँदै गएका स्थानीय बुद्धबृद्धाहरुले बताएका छन् ।‘गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, शहरबजारको हावा गाउँमा छिरिसकेको छ’ पं नीलकण्ठ आचार्यले भन्नुभयो ‘अब भक्त प्रल्हाद र फुपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रल्हादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।’

पmगु पूर्णिमा ‘होली’मा परिणत भएपछि यो युवापुस्तामा मात्रै सीमित रहेको छ । उमेर ढल्केका र बृद्धबृदाहरुमा फागु पूर्णिमाको कुनै रौनक देखिदैन । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा बृद्धबृद्धाहरुले चिन्ता व्यक्त गरेका छन् ।

पहिले मनाइने ‘फागु पूर्णिमा’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय बृद्धबृद्धाहरुको भनाइ रहेको छ । ‘पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो’ सिंगाका ७२ वर्षिय गणनाथ पौडेलले भन्नुभयो ‘अहिले मोवाइलमा हिन्दी र अंग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलुले हान्ने,फोहोर पानी खन्याइदिने, होलीको नाममा जे गरेपनि हुने जमाना आयो ।’

‘अहिले होली संस्कार,संस्कृति जोगाउने भन्दा पनि रमाइलो गर्ने,फ्रेस हुने, साथीभाइ भेटभएर बनभोज खाने पर्वको रुपमा मनाइने गरिन्छ’ २२ वर्षिय युवा धिरज घिमिरेले भन्नुभयो ‘जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ अहिलेका युवा त्यसैबाट छिटो प्रभावित भइन्छ ।’यसरी परिवर्तन हुँदै गएको मौलिक संस्कृतिको संरक्षण गर्न बेलेमा सचेत नहुने हो भने मौलाउँदै गएको विकृतिले एक दिन भयानक अवस्था उत्पन्न नहोला भन्न नसकिने र यसतर्फ सबै सचेत रहनु पर्ने स्थानीय बुद्धिजीविहरुको भनाइ रहेको छ ।