विपन्नको उपचारमा एकदम्पत्तीले दिए ५ लाख सहयोग

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई हङकङमा बस्ने एक दम्पत्तीले ५ लाख आर्थिक सहयोग गरेका छन् । कोषको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नागी स्थायी घरभई हाल हङकङमा बस्ने मोना हङकङका सल्लाहकार एवम् मिक हङकङका संस्थापक संरक्षक राजु पुनले आफ्नी धर्मपत्नीको नामबाट कोषलाई ५ लाख सहयोगको घोषणा गरेका हुन् ।

जिल्लामा आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सक्रिय संस्थाका गतिविधिबाट उत्साहित भएर सहयोग गरेको पुनले बताए । ‘धेरै आर्थिक भएर होईन्, गरिब जनतालाई उपचारमा आर्थिक अभावले मृत्यु रोज्नु्पर्ने अवस्थालाई अन्त्यका लागि भइरहेका गतिविधिले सहयोग गरेको हु’ पुनले भने । उनले आफ्नो परिवार भित्रको समस्यालाई सम्झिएर मृगौला सहितका जटिल समस्यामा सामुहिक प्रयासले सम्भव हुने भएकाले पनि सहयोग गरेको बताए ।

उनले आफुँले श्रीमति र सन्तानको नामबाटै सहयोग गदैं आइरहेको बताए । सोही अवसरमा मिक हङकङका सञ्चालक एवम् सिए इन्द्र पूर्जा पुनलाई समेत स्वागत तथा सम्मान गरिएको थियो । कोषका अध्यक्ष राजेश शाक्यले हङकङमा रहेका म्याग्देलीले कोषको अक्षय कोष स्थापनाका लागि ४० लाखभन्दा धेरै सहयोगको प्रतिबद्धता जनाएको बताए ।

उनले कोषले १ करोड ५० लाखको अक्षय कोष स्थापनाका लागि सुरु गरेको अभियानलाई निरन्तरता दिने बताउँदै २ करोडसम्म अक्षय कोष पुग्ने बताए । उनले सामाजिक संस्था भएकाले सामाजिक अभियान बाहेक संस्थाको कुनैपनि स्वार्थ नभएको समेत बताए । उनले संस्थागत गतिविधिका बारेमा जानकारी लिन चाहनेलाई कुनैपनि बेला आर्थिक सहित सहयोगको विवरण उपलब्ध गराउन सक्ने बताए ।

उनले आगामी अधिवेशनबाट हरेक तीन महिनामा संस्थागत गतिविधि सहितको सहयोग विवरणलाई समेत सार्वजनिक गर्ने गरी कार्यालयको स्थापना, कर्मचारी ब्यवस्थापन भइरहेको बताए । कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउन विश्वभर रहेका म्याग्देलीलाई अभियानमा जुट्न अपिल समेत गरेको छ ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष शाक्य, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनमगरले गरेका थिए ।