पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरिएको छ । जिपी फाउण्डेशन म्याग्दीले आयोजना गरेको कार्यक्रममा बोल्दै फाउण्डेशकी केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश संयोजक सारदा पौडेलले स्वर्गीय कोइरालाको नेतृत्वमा दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियाबाटै देशमा संघीय गणतन्त्र स्थापाना भएको बताईन् ।

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले खेलेको योगदानलाई बिर्सन नहुने विचार ब्यक्त गरेकी थिईन्। नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले स्वर्गीय कोइरालाको योगदानको चर्चाले मात्रै नहुने बताउँदै शान्ति र संघीय संविधान कांग्रेसको नेतृत्वमा भएकाले परिवर्तनमा कांग्रेसको भूमिका महत्वपूर्ण भएको बताए । स्मृति दिवसको अवसरमा पाटीका सचिवद्धय बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र क्याप्टेन मिन बहादुर कार्की, पूर्व सहसभापति नेत्रबहादुर महत लगाएतको उपस्थिती रहेको थियोे ।

सोही अवसरमा बि.श २०६६ जेठ २६ देखि २०७४ सम्म म्याग्दीको शान्ति प्रक्रियामा सघाउन स्थापना भएको स्थानीय शान्ति समितिका १३ जना जिल्ला संयोजकलाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेको तर्फबाट स्थानीय शान्ति समितिका संस्थापक अध्यक्ष धुब्रलाल शर्माले बोलेका थिए । कार्यक्रमको अध्यक्षता जिपी फाउण्डेशन म्याग्दीका संयोजक अजयमिलन श्रेष्ठ र सञ्चालन निर्मल खत्रीले गरेका थिए । कोइरालाको २०६६ साल चैत्र ७ गते निधन भएको थियो ।