सडकको ट्याक खुलेको १० वर्ष बिते पछि बल्ल म्याग्दीको एउटा सडकको स्तरोन्नतिका लागि काम शुरु भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बरंङ्जा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडकको स्तरोन्नतिका लागि काम शुरु भएको हो । यो सडकको ट्याक २०६५ सालमा खोलिएको हो ।

गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी नगरपालिका २ मा पर्ने हाँडेभिरदेखि बेनपाको बगरफाँट सुर्केमेला थामडाडाँ हुँदै बरंजा जोड्ने सडक स्तरोन्नतिका लागि उपभोक्ता समिति मार्फत काम सुरु गरेको हो । यो सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५० लाख बजेट बिनियोजन गरेको छ । उक्त बजेटबाट हाँडेभीरदेखि बरंजासम्मका विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाउने, कजवे बनाउने, घुम्ति तथा मोड, ग्रेड सुधारका साथै ग्राभेल र सोलीङ गरिने उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

प्रदेश सरकारको (ग) बर्गमा परेको यो सडक आयोजनामा साँघुरो र उकालो भएर ग्रेड नमिलेको ठाउँमा करिब ६०० मिटर नयाँ ट्याक खोलिन पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर घनश्याम रोकाले जानकारी दिए । सब इन्जिनियर रोकाका अनुसार सडकको विभिन्न ठाउँमा एक हजार ८१६ धनमिटर ग्यावीयन पर्खाल, एक हजार २५० मिटर ग्राभेल र १४८ मिटरमा ढुङ्गा बिछ्याएर सोलीङ गरिने योजना रहेको छ ।

सडक स्तरोन्नति भएपछि बेनी नगरपालिकाको बगरफाँट, भकिम्ली, सुर्केमेला, थामडाँडा र मंगला गाउँपालिकाको बरंजाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । २०७५ फागुन १५ गते सम्झौता भएको योजना २०७६ जेठ १५ मा सम्पन्न गर्ने लक्ष्य छ ।