नदीजन्य वस्तुको उत्खनन्मा डोजर,स्काभेटर जस्ता हेभि एक्यूभमेन्टको प्रयोग गर्न कानुनले निषेध गरेको छ । तर,म्याग्दीका कालीगण्डकी र म्याग्दी नदीमा बजार र वस्ती संरक्षणका नाममा खुल्लारुपमा नै डोजर र स्काभेटरहरु प्रयोग भैरहदा पनि सरोकारवाला निकाय मौन छन् । उत्तरबाट दक्षिणतर्फ बगिरहेको पवित्र कालीगण्डकी नदीको बेनी खण्डमा सदरमुकाम बेनी बजार संरक्षणको नाममा नदीको छेउछाउ र बिचभागमा रहेका ठूलाठूला ढुङ्गा फुटालेर नदीको सौन्दर्यलाई नष्ट गरिएको छ ।

म्याग्दी सदरमुकाम बेनी क्षेत्रको पवित्र कालीगण्डकी नदीको चरम रुपमा दोहन भइरहेको केही स्थानीयले बताएका छन् । बजार संरक्षणका लागि पर्खाल लगाउने बहानामा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन् जोखिमको सम्भावना बढेको भन्दै स्थानीयले बेनी नगरपालिकामा गुनासो समेत गरेका छन् ।

बजारबासीको गुनासो अनुगमनका क्रममा पुष्टि भएपछि उपभोक्ता समितिका पदाधीकारीलाई नगरपालिकामा बोलाएर जथाभावी ढुङ्गा ननिकाल्न र उपकरण प्रयोग नगर्न सचेत बनाएको नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । उपभोक्ता समितिको अदृश्य चलखेलका कारण गुणस्तरीय काम नहुने, ढिलासुस्ती र संरक्षणको नाममा बिनाश हुन सक्नेतर्फ बजारबासीको गुनासो बढ्न थालेको छ ।

स्थानीयको गुनासो आएपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकीकृत संरक्षण समितिमार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको भन्दै बजारबासीले बिरोध जनाएका हुन् ।
‘आयोजनाको नाम ‘बेनी बजार संरक्षण’ भएपनि काम चाहीँ ‘कुखुरालाई बार’ जस्तै भएको छ ।’ बेनी बजारका एक स्थानीयले भने ‘नदीका ठूल्ठूला ढुङ्गा निकालेर,टुक्राटुक्रा बनाइ ग्याविन लगाएर संरक्षण होइन झन विनास निम्तने निश्चित छ ।’

बेनी नगरपालिकाका नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा पनि नदीका ढुङ्गा फोडेर पर्खाल लगाएको प्रति निकै असन्तुष्ट हुनुहुन्छ । विश्वकर्मा भन्नुहुन्छ ‘यसरी बेनी बजारको संरक्षण कसरी हुन सक्छ ?, पहिलो कुरा त नदीको स्वरुप र धार नै परवर्तन गरिएको छ,पुराना,गहिरोसंग बसेका ठूल्ठूला ढुङ्गा फोडिएको छ, दोस्रो ग्याविन जाली लगाउने ठाउँमा जग नै खनिएको छैन । पानीको सतहमाथिबाट नै ग्याविन पर्खाल लगाइएको छ,यो त कुखुरालाई बार लगाए जस्तै भयो ।’

म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष एवम् बेनीका उद्योगी प्रमोदकुमार श्रेष्ठले पनि कालीगण्डकी नदीबाट ढुङ्गा निकालेर ग्याविन लगाउनु उपयुक्त नभएको बताउनुभयो ।‘हामीले उपभोक्ता समितिहरुलाई बारम्वार सचेत बनाइरहेका छौँ तर उनीहरुले अटेर गरेका छन्’ श्रेष्ठले भन्नुभयो ।

बेनी बजार संरक्षणको नाममा भैरहेको यो गतिविधिलाई स्थानीय प्रशासन र स्थानीय निकाय दुवैले टुलुटुलु हेरिरहेका मात्र छन् । बजार संरक्षण गर्न ग्यावियन जाली लगाउने बहानामा उपभोक्ता समितिले घुमाउरो शैलीमा ठेकेदारमार्फत उपकरण प्रयोग गरेर नदीमा जमेर बसेका ठूलाठूला ढुङ्गाहरु पmोडिरहेको छ । नदीको स्वरुप र धार नै परिवर्तन गरेर मनपरी गरिरहेका उपभोक्ता समिति र अघोषित ठेकेदारहरुलाई न बजारबासीले रोकेका छन् नत सम्वन्धित निकायले नै । कसको स्वार्थमा किन यसरी नदीको दोहन भैरहेको छ र सम्वन्धित निकाय किन मौन छ ? यो रहस्यको विषय बनेको छ ।

रुपाताल संरक्षण समितिले बेनी बजार संरक्षणका लागि पुरानो पर्खाल संरक्षण र गत भदौको बाढीले बगाएको ठाउँमा ग्यावीयन पर्खाल निर्माणका लागि चार वटा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ । उपभोक्ता समितिले बिना प्रतिस्पर्धा सीमित व्यवसायीको उपकरण प्रयोग गरेको, उपभोक्ता परिचालन गरेर गर्नुपर्ने काम घुमाउरो शैलीमा ठेक्कामा लगाएको, ग्यावीयन जालीमा चलखेल गरेको बजारबासीले गुनासो गरेका छन् ।

बेनी बजार संरक्षणका लागि चालू आर्थिक वर्षमा तीन करोड पचास लाख रुपैयाँ बिनियोजन भएपनि कुन उपभोक्ता समितिसँग कति बजेटमा सम्झौता भएको हो भन्ने बारेमा कार्यालय र समिति दुवैले सार्वजनिक गरेका छैनन् ।
चार वटा मध्ये ८ नम्बर वडाको एउटा उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्यले साना ढुङ्गा पर्खाल लगाउन प्रयोग गरेको र बजारबासीले गरेको आशंका सत्य नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले ग्याविन जाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमति भएको र सोही अनुसार नै काम गरिएको बताए । तर नदीका बीचमा गाडिएर रहेको ठूल्ठूला ढुङ्गाहरु समेत स्काभेटरले निकालेर फोडिएको बारे उहाँले केही बताउन चाहनुभएन ।अध्यक्ष कर्माचार्यले भन्नुभयो ‘ग्याविन पर्खालका लागि ठूला ढुङ्गा हाल्नु पर्छ पनि भन्ने अनि ढुङ्गा निकाल्दा विरोध पनि गर्ने ? यो दोहोर चरित्र केका लागि ?’

अध्यक्ष कर्माचार्यले बेनी नगरपालिकासंग नदीका ढुङ््गा निकाल्न नदिने हो भने ढुङ्गा ल्याउने ठाउँ देखाइदेउ हामी त्यही बाट ढुङ्गा किनेर ग्याविन लगाउँछौं भन्दा नगरपालिकाले ढु्ङ्गा ल्याउने ठाउँ देखाइदिन नसकेको बताउनुभयो ।
बेनी बजार संरक्षणका लागि म्याग्दीबेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्यावीयन पर्खाल लगाइने सम्झौता भए अनुसार अहिले सोही अनुसार काम भैरहेको उहाँको दाबी छ ।

बजार संरक्षणका लागि चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको भनिए पनि अध्यक्ष कर्माचार्यले पुगनपुग ३ करोड रुपैयाँको हिसाब मात्र देखाउनुभयो । कर्माचार्यका अनुसार प्याकेज ‘ए’का लागि ७३ लाख ८६ हजार ३ सय, प्याकेज ‘वि’ मा ७१ लाख ९ हजार, प्याकेज ‘सि’७१ लाख र प्याकेज ‘डि’ का लागि ७८ लाख रुपैयाँ रहेको छ ।
तर,बजेटको विषयमा बजारमा निकै कानेखुसी समेत हुने गरेको छ । उपभोक्ता समिति र निर्माण कम्पनिले यथार्थ बजेट सार्वजनिक नगरेको भन्ने गुनासो व्यापक छ ।