घायलश्री / न लाभ, न उचित सम्मान तर पनि साहित्यमा निरन्तर लागिरहन्छ मान्छे । आखिर किन यसरी साहित्यमा लाग्छ हँ मान्छे ? साहित्य भनेर किन यसरी निरन्तर खटिरहन्छ हँ मान्छे ? विचारले दिशावोध गराउँछ, त्यसैले असल विचार बोकेको साहित्यले असल समाजको चित्र कोर्ने मात्र होइन असल समाज निर्माणमा पनि सघाउ पु–याउँछ ।

राज्यले साहित्यलाई उचित स्थान नदिँदा पनि लेखकहरु आफूलाई निरन्तर साहित्यमा रुझाइ राख्न चाहान्छन् । त्यस्तै आफूलाई पनि साहित्य कै वरिपरि नै राख्न चाहाने म्याग्देली नारी हस्ताक्षर एवम् साहित्य सर्जक हुन् शारदा सुवेदी । कतिले भन्छन् कि कविता सन्तुष्टिका लागि लेखिन्छ त कतिले भन्छन् साहित्य अनुभूति प्रस्फुटनका लागि लेखिन्छ । बाबु गङ्गादत्त सुवेदी र आमा भीमकुमारी सुवेदीको कोखबाट २०३९ सालमा म्याग्दीमा जन्मेकी शारदाले नेपाली विषयबाट एम.फिल. सम्मको अध्ययन गरेकी छन् । आफ्नो स्कुले जीवनदेखि नै फाट्टफुट्ट रहरले लेख्थिन् ।

कलेजका दिनहरुमा आफ्ना लागि लेख्थिन् तर अहिले समाजका लागि लेख्छिन्, देशका लागि लेख्छिन् उनी । उत्पीडनमा परेकाहरुका लागि लेख्छिन्, वर्गविहीनहरुका लागि पनि लेख्छिन् । आफ्नो गाउँघर वरिपरि हुने गरेका स–साना घटनाहरुले उनको मन सजिलै छुन्थ्यो र तिनै घटनाहरुलाई कवि मनले शब्दका गुच्छाहरु मार्फत उन्ने काम गर्थिन् । अन्ततः उनका तिनै शब्दरुपी मालाहरु कुनै गीत बने, कुनै कविता बने त कुनै मुक्तक बने । हो, उनले उनेका शब्दहरु साहित्यका विविध विधाहरु बने । साहित्य लेखनसँगै शिक्षण पेसामा आवद्ध अहिले भने लेख्ने र बोल्ने उनको पेसा नै बनेको छ ।

विभिन्न साहित्यिक सङ्घ संस्थाहरुमा आवद्ध सुवेदीको ‘भोको पेट’ (कविता सङ्ग्रह–२०७३), ‘मनसँग एकछिन्’ (मुक्तक सङ्ग्रह–२०७४), ‘शब्द शिविर’ (संयुक्त गजलसङ्ग्रह–२०७४), ‘परिवर्तन’ (संयुक्त मुक्तकसङ्ग्रह–२०७३) ‘मुक्तक चौतारी’ (२०७४ संयुक्त मुक्तक संग्रह ) आदिजस्ता कृतिहरू प्रकाशित छन् । समालोचनामा पनि कलम चलाउने उनको अहिले ‘संस्कृति र सांस्कृतिक अध्ययन’ कृति प्रेसमा रहेको छ । ‘रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार’ –२०७३ तथा अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट धौलागिरी पुरस्कार २०१७ बाट पनि सम्मानित भईसकेकी सुवेदीका सिर्जनाहरुमा अत्याधिक रुपमा प्रकृतिको चित्रण गरेको पाइन्छ ।

समकालिन तथा युग चेतनाले पूर्ण सजिएकी उनी आफ्ना सिर्जनाहरुमा विचारलाई प्राथमिकता दिन्छिन् । वर्तमान राजनीतिबाट समेत सचेत रहेकी शारदा असमानता र विभेदका विरुद्ध शब्दरुपी नाराहरु घन्काउछिन् । सङ्घर्षशील पाइलाहरु मार्फत नै गुमेको अस्तित्व फर्काउन सकिन्छ भन्ने विचारले प्रेरित भएर नै दिन प्रतिदिन सफलताको सिँढी चढिरहेकी शारदाको आगामी बाटो पनि साहित्यमय भएर वितोस्, हार्दिक शुभकामना ।