म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन भइरहेको छ । जिल्लाका ९ वटै परीक्षा केन्द्रमा निर्धारित समय बिहान ८ बजेदेखि परिक्षा सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । बेनी नगरपालिका सहित जिल्लाका ६ वटै स्थानीय तहमा रहेका परिक्षाकेन्द्रबाट पहिलो दिनको परिक्षामा अनुपस्थितको विवरण सहित सम्रग अवस्थाका बारेमा जानकारी प्राप्त भएको इकाईका प्रमुख दलबहादुर थापाले बताए ।

‘शान्तिपूर्ण रुपमै परिक्षा सञ्चालन भइरहेको छ,‘अनुगमन सहित आवश्यक सहयोग समेत केन्द्रसम्म पुगेको छ’ थापाले भने । उनले इकाईले केन्द्राध्यक्षलाई तत्कालै कुनै समस्या भएरमा सहयोग गर्ने गरी स्थानीय तहमा रहेका शिक्षाका प्रतिनिधि सहितको टोलीसंग समन्वय गरिरहेको बताए ।

बेनीबजारमा रहेका बेनी सामुदायिक, प्रकाश मावि र न्यू वेष्ट पोइन्ट आवासीय मावि परिक्षा केन्द्र, सिंगाको धौलागिरी मावि, बावियाचौरको मंगला मावि, दरबाङको जनप्रिय मावि, ताकम सिवाङको हेम मावि, मुक्तिथाम मावि राखु, मुक्तिमार्ग मावि घार परिक्षा केन्द्रको नियमित जानकारी सहित विद्यार्थीलाई आवश्यक पर्ने प्राथमिक उपचार, छात्रा विद्यार्थीलाई सेनेटरी प्याड लगाएतको साम्रागी समेत उपलब्ध गराएको छ ।

परिक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनी, स्थानीय तहका प्रमुख सहितको टोलीले समेत अनुगमन सुरु गरेका छन् ।बेनी सामुदायिक केन्द्रका केन्द्राध्यक्ष नगेन्द्र खत्रीका अनुसार केन्द्रमा खुला विद्यालयतर्फबाट अन्नपुर्ण गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष खम बहादुर गर्बुजा पुन, वडा सदस्य गेममायाँ पुन र देव कुमारी पुन समेत सहभागी छन् ।

परिक्षा केन्द्रमा खुल्ला तर्फका ५ जना अनुपस्थित रहेका छन् । म्याग्दीबाट कुल २ हजार २ सय ४२ जना विद्यार्थी छन् । दुईजना दृष्टिविहिन विद्यार्थीहरु ज्ञानोदय मावि मौवाफाँटबाट परीक्षामा सहभागी भइरहेका छन् । नियमिततर्फ १ हजार १ सय ३१ जना छात्र र १ हजार १ सय ११ जना छात्रा रहेकोमा २५ जना खुला, २२ जना प्राविधिक धारतर्फ र ७ जना ग्रेडवृद्धिका विद्यार्थीहरु रहेका छन् ।