एसइई परीक्षा दिँदै वडा अध्यक्ष

जिल्लाको अन्नपूर्ण गाउँपालिकाका एक वडा अध्यक्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)का सामेल भएका छन् । बि.श २०४४ सालमा एसएलसीमा सहभागी भएपनि सफल नभएपछि पढाई छोडेका गाउँपालिका वडा नं ८ का अध्यक्ष  खम बहादुर गर्बुजाले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएसंगै शैक्षिक योग्यताको आवश्यकतलाई महसुस गरेपछि खुल्ला विद्यालयबाट परिक्षामा सहभागी भएको बताए ।

‘शिक्षा बिना एक पाईला पनि अगाडी बढ्न सकिने अवस्था छैन्,‘शैक्षिक योग्यताका बारेमा सधै मौन बस्नुपर्ने अवस्थालाई तोड्ने चाहनाले परिक्षामा सहभागी भए’ गर्बुजाले भने ।उनले गाउँपालिकाका हरेक बैठक, सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रममा परिचय दिदाँ आधारभुत तहको शिक्षाभन्दा हेर्ने नजर नै फरक भएको महसुस गरेपछि जनप्रतिनिधिको जिम्मेबारीसंगै परिक्षामा समेत सहभागँी भएको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको वडालाई हाक्दै आएका गर्बुजाले परिक्षामा सफल हुने विश्वास ब्यक्त गरे । उनले जनप्रतिनिधि भएपनि पढाईको थप महत्व बुझेको समेत बताए । सदरमुकाम बेनी सामुदायिक केन्द्रमा परिक्षा दिइरहेका जनप्रतिनिधिलाई अनुगमनमा जाने प्रजिअ सहितको टोलीले समेत हौसला मिलेको उनले बताए ।