ब्यक्तिगत तथा संस्थागत विकासका लागि प्रभावकारी भाषण कलाको आवश्यकता रहेको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । सरकारी तथा गैरसरकारी संस्थाका साथै सामुदायिकस्तरमा हुने विभिन्न क्षेत्रमा नेतृत्व तथा ब्यक्तित्व विकास गर्न चाहने सबैले प्रभावकारी भाषण कला सिक्नुपर्ने धारणा राखिएको थियो ।

तालिमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले ग्रामिण क्षेत्रका महिलाहरुको नेतृत्व तथा क्षमता विकासका क्षेत्रमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने बताए । उनले अहिलेको अवस्थामा सार्वजनिक स्थानमा कार्यक्रम सञ्चालन, मन्तब्य तथा भाषण कलाको धेरै आवश्यकता रहेकाले पनि आफुँले सिकेको सीपलाई दैनिक जीवनका प्रयोग गर्न अनुरोध गरे ।

‘बजेट विनियोजनमा क्षमता विकासलाई पनि प्राथकिता दिन्छौ,‘सिक्ने कुरा निरन्तर चल्ने प्रक्रिया हो’ भण्डारीले भने । उनले गाउँपालिका भित्रका सबै वडाका आवश्यकतालाई प्राथमिकता राखेर आवश्यकताको विवरण संकलन भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले मापदण्ड र नियमपद्धतीमा रहेर बोल्नुपर्ने भएकाले पनि तालिमको आवश्यकता रहेको बताए ।

उनले पुरानो शैलीबाट गरिने भाषण, कार्यक्रम सञ्चालको पद्धतीलाई तोड्नुपर्ने बताए ।सोही अवसरमा वडा अध्यक्ष एक बहादुर गर्बुजा, जनता मावि ब्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजा, वडा सदस्य धनप्रसाद गर्बुजाले तालिमले निर्धारित समयभित्र छिटो छरितो, स्पष्ट कार्यक्रम सञ्चालनमा सहज हुने अपेक्षा गरेका थिए ।वडा कार्यालयको आर्थिक सहयोग तथा एकता यूवा क्लवको आयोजनामा सञ्चालित दुई दिने प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षक रमेशकुमार श्रेष्ठ र पत्रकार हरिकृष्ण गौतमले सहजिकरण गरेका छन् ।

गाउँमा हुने कार्यक्रम सहित सम्रग गतिविधिको समाचारको संकलनको विधि उद्घोष तथा नेतृत्व तथा ब्यक्तित्व विकास कला लगाएतका विषय समावेश गरिएको छ । तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता एकता यूवा क्लवका अध्यक्ष गुन पुन, स्वागत तालिम संयोजक मोहन तिलिजा र सञ्चालन क्लव सचिव कृष्ण पुनले गरेका थिए । तालिममा दग्नाम र दर्मिजाका ४७ जनाको सहभागिता रहेको छ ।

Leave a Reply