Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

म्याग्दीका बिज्ञ गौचन सहित नेपाली जुनियर फुटबल टोली जापानमा

विगत १० वर्षदेखि जापानमा सञ्चालित १२ वर्ष मुनिको फुटबल प्रतियोगितामा म्याग्दीका बिज्ञ गौचन सहितको टोली जापान पुगेको छ । आगामी मार्च २९ देखि तीन दिनसम्म हुने सो अन्तराष्ट्रिय जुनियर कोपापुमा तोरेरोस फुटबल प्रतियोगितामा भाग लिन १२ जना खेलाडीसहित १ प्रशिक्षक, १ म्यानेजर र १ संचारकर्मीसहित १५ जनाको टोली टोकियो पुगेका छन् ।

नेपालबाट आएका खेलाडीहरुमा बिज्ञ गौचन (म्याग्दी), सफल थापा (कास्की), विनय तामाङ (मकवानपुर), अलेक्स पौडेल (काठमाडौं), विश्वास ओझा (काठमाडौं), सरोज दर्लामी (रुपन्देही), बिबिर थापा (बागलुङ), बिशाल बिक. (स्याङ्जा), समिर गौतम (अर्घाखांची), आर्यन गुरुङ (स्याङ्जा), सुबिन नेपाली (कास्की) र प्रकाश तामाङ (गोरखा) रहेका छन् ।प्रतियोगिता शिजुओका केनको सुसोनो सिटी, शिमोवादा स्थित तोकिनो सुमिका स्पोर्टस् सेन्टरमा हुने छ । प्रतियोगितामा नेपाल लगायत ब्राजिल, जर्मनी, दक्षिण कोरिया र जापानको जे लिगका ४० टिमको सहभागिताको विवरण समेत सार्वजनिक भएको छ ।

सन् २०१६ देखि नेपालका खेलाडीहरुले उक्त प्रतियोगितामा लगातार भाग लिदैं आईरहेको अवस्थामा यसअगाडी समेत म्याग्दीबाट अनुपम श्रेष्ठ समेत प्रतियोगितामा सहभागीता जनाएका थिए ।प्रतियोगितामा सहभागी हुनुपूर्व छनौट खेल सहित बन्द प्रशिक्षणमा समेत बस्नुपर्ने भएकाले पनि नेपाली खेलाडीको खेल सुधार भइरहेको छ । खेलाडिहरुको टोलीलाई एनपिओका अध्यक्ष बसन्त गौचन र उपाध्यक्ष ओमप्रकाश तुलाचनले विमानस्थलमा स्वागत गरेका थिए । खेलाडीको स्वागतमा जापानमा कार्यक्रम समेत तय गरिएको छ ।

Exit mobile version