जापानको नागोयामा नवजात शिशुलाई जन्म दिएर मृत्यु भएकी एक यूवतीको आफन्तलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका ३ पिप्ले घरभई रोजगारीको सिलसिलामा नागोयामा रहेकी प्रमिला दर्जीको मृत्यु भएपछि नवजात शिशुको पालनपोषण तथा शिक्षादिक्षाका लागी जापानमा रहेका म्याग्देलीले सुरु गरेको अभियान अन्तरगत नागोयामा बसोबास गर्ने म्याग्देलीले संकलन गरेको ८९ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

ब्रेन ट्यूमरबाट पीडित प्रमिलाले बच्चालाई जन्म दिएको एकसातामै मृत्यु भएपछि नवजात छोरी प्रसिद्धीलाई आवश्यक पर्ने गरी खर्च गर्न मोना क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी मगर,कोषाध्यक्ष रामबहादुर किसान र सदस्य टेकप्रसाद पौडेलले दिनेशकी आमा गुमा र बहिनी सपनालाई हस्तान्तरण गरेका थिए ।

मोना जापानले प्रसिद्धीको नाममा गरिमा विकास बैंकका खाता खोलेर मुद्धतीमा रकम जम्मा गरेको छ । गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएपछि मोना जापान नागोयाको टोलीले उपचार सहित अस्पतालमै समेत सहयोग गरेको थियो । चिकित्सकसंग परामर्श सहित आर्थिक सहयोग जुटाउन म्याग्देलीले गरेको प्रयासलाई शिशुका आफन्तले धन्यवाद समेत दिएका थिए ।

Leave a Reply