अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्ड इन्टरनेशनलले २८ औ स्थापना दिवसको अवसरमा बिहीबार बेनी नगरपालिका २ बगरफाँटको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५९ जना बालबालिकाहरुलाई एक एक सेट पोशाकको साथमो कापी, कलम र पेन्सिल उपलब्ध गराएको हो ।

सन १९९१ मा दक्षिण कोरियामा स्थापना भएको गुड नेवर्सले २०१३ देखि म्याग्दीको धवलागिरी गाउँपालिकाको सबै वडामा शिक्षा, स्वास्थ्य, कृषि, आयआर्जन लगायत क्षेत्रमा स्थानीय साझेदार संस्था संगम र कदमको सहकार्यमा म्याग्दी सामुदायिक विकास परियोजना सञ्चालन गरेको छ ।

परियोजनाले २८ वटा विद्यालयको एक हजार ४५० जना विद्यार्थीहरुको शिक्षामा सघाउदै आएको छ । सरस्वती आधारभुत विद्यालयका अधिकांश विद्यार्थीहरु गरिबी र विपन्नताका कारण पोशाक बिनै विद्यालय आउने गरेकाले विद्यालयको माग र आवश्यकता अनुसार शैक्षिक सामग्री सहयोग गरिएको संस्थाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताउनुभयो ।

सो विद्यालयका दुई जना विद्यार्थी आमा बुवाले छाडेर गएपछि वृद्धा हजुरआमासंग शौचालयका लागि बनाएको भवनमा बसेको सम्बन्धी समाचार सार्वजनिक भएपछि संस्थाको टोली विद्यालयमा पुगेको थियो ।वडा कार्यालयको पहलमा शौचालयमा बस्दै आएका जमुना परियार र उनका नातीहरुलाई कोठाको व्यवस्था गरिएपनि धेरै विद्यार्थीले पोशाक नलगाएको र प्रअको सल्लाह अनुसार पोशाक वितरण गरेको लोहारले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको अध्यक्षता र संस्थाका जितेन्द्र धामीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर थापाले शौचालयबाट कोठामा व्यवस्थापन गरिएका जमुना परियारको आवास व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो ।

Leave a Reply