प्रकृतिले निःशुल्क रुपमा उपहारस्वरुप दिएका प्राकृतिक स्रोतहरु पर्यटनको आकर्षणका रुपमा रहेका छन् । प्रकृतिले वरदान जस्तै मानिसलाई प्रदान गरेका ती प्राकृतिक स्रोत तथा साधनहरुले पर्यटकीय सम्भावना र महत्व बोकेका छन् । हिमाली जिल्ला म्याग्दी प्राकृतिक स्रोत र साधनका हिसाबले धनी मानिन्छ ।

म्याग्दीमा विभिन्न प्रकृतिका असङ्ख्य मात्रामा स्रोत एवं साधनहरु उपलब्ध छन् । तीमध्ये खोलानाला, वनजङ्गल, ताल, पोखरी, झरना, हिमाललगायत हुन् । यसका साथै म्याग्दीमा रहेको पर्यटनका क्षेत्रमा प्रबल सम्भावना बोकेको क्षेत्र हो तातोपानी कुण्ड अर्थात् तातोपानीका मुहानहरु । जिल्लाको विभिन्न स्थानमा रहेका तातोपानीका कुण्डहरुले पर्यटन आकर्षणको काम गरिरहेका छन् ।

जमिन मूनिबाट विरेनुनको स्वादेसँगै निस्कने तातोपानीका मुहानहरुको आफ्नै खालको छुट्टै विशेषता र महत्व रहेको छ । पछिल्लो समय म्याग्दी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्दै जान थालेको छ । त्यसको एउटा प्रमुख कारण तातोपानीका कुण्डहरु पनि हुन् । तातोपानी कुण्डमा डुबेर रमाउने, तातोपानीका धारामा नुहाउने, विरेनुनको स्वादको पानी पिउने जस्ता शोखका कारणले गर्दा पनि वर्षेनी हजारौंको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकहरु जिल्ला भित्रिने गर्दछन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मात्रै विभिन्न ४ ठाउँमा तातोपानीका कुण्डहरु रहेका छन् । अन्नपूर्ण–२, भूरुङ–तातोपानीस्थित रहेको तातोपानी कुण्ड विशेष गरी विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रविन्दुका रुपमा रहेको छ । त्यस कुण्डमा स्नान गर्ने पर्यटकहरु बियरको चुस्कीसँगै रमाउने गर्छन् । कुण्ड नजिकै पसल रहेको हुँदा उनीहरुलाई निकै सजिलो भएको छ । यसका साथै अन्नपूर्ण–१, साविक दोवा गाविसस्थित सेकार तातोपानी कुण्ड, ५ नम्बर वडामा पर्ने शिख–पाउद्धार र गाउँपालिकाको केन्द्र पोखरेबगर नजिकै ६ नम्बर वडाको रातोपानीस्थित कालीगण्डकी नदी किनारमा तातोपानीको कुण्ड अवस्थित छ ।

भूरुङ–तातोपानीको कुण्डमा चिसो पानी पनि मिसाइने हुँदा स्नानका लागि सजिलो मानिन्छ भने रातोपानीको तातोपानी अत्यन्तै तातो र शिख पाउद्धारको तातोपानी कुण्ड नुनिलो (चर्को) रहेको छ । अन्नपूर्ण गाउँपालिका तातोपानीका कुण्डसँगै विद्युत उत्पादनको भण्डार, पर्यटनको केन्द्र, पदयात्रा र अन्धगल्छी तथा सुन्दर रुप्से झरनाले धनी छ । पाउद्धारको तातोपानी कुण्डमा केही समय पहिले विद्यार्थीसहित आएका केन्द्रीय प्रविधि क्याम्पस धरानका प्राविधिक सहायक कृष्णबहादुर श्रेष्ठले कुण्डमा डुब्दा आफूलाई आनन्दको अनुभूति हुनुका साथै शारिरीक दुखाइमा कमीको महशुस गरेको अनुभव सुनाए ।

यता पश्चिम म्याग्दी क्षेत्र अन्तर्गत पर्ने बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा पनि हरेक वर्ष बिरामीको चाप बढ्दै गएको पाइन्छ । म्याग्दीको धौलागिरी गाउँपालिका–१, गूर्जा, ४ मुदी, रघुगंगा–४, दर्मिजामा समेत तातोपानीको कुण्ड रहेको छ । गाउँपालिकाभित्र रहेका तातोपानीका स्रोतहरुको संरक्षण तथा भौतिक पूर्वाधार विस्तार गर्ने योजना रहेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरको भनाइ छ ।

Leave a Reply